वैतडी । Nepali Congress ले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधिमा संलग्न एक क्रियाशील सदस्यलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ।
जिल्ला अनुशासन समितिद्वारा जारी पत्रअनुसार, नेपाली कांग्रेसका क्रियाशील सदस्य महादेव भट्ट पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधिमा संलग्न भई नेकपा (एमाले) का उम्मेदवारको पक्षमा मत माग्दै हिँडेको प्रमाण पुष्टि भएपछि कारबाही गरिएको जनाइएको छ। उक्त निर्णय फागुन २०, २०८२ मा गरिएको पत्रमा उल्लेख छ।
यस विषयमा वैतडी–१ का कांग्रेस उम्मेदवार Chatur Bahadur Chand ले आफैंले जानकारी पाएपछि उजुरी दर्ता गराएको र छानबिनपछि दोषीमाथि कडा कारबाही भएको बताएका छन्। “पार्टीको नीति, विधि र अनुशासनविपरीत गतिविधि गर्ने जो–कोहीलाई छुट छैन,” उनले बताए।
चन्द स्वच्छ छविका नेताका रूपमा चिनिन्छन्। उनी क्यान (Computer Association of Nepal) का समेत अध्यक्ष रहेका छन्। वैतडी–१ लाई समृद्ध बनाउने स्पष्ट भिजनसहित चुनावी मैदानमा उत्रिएका चन्दले आफूलाई बदनाम गराउन योजनाबद्ध रूपमा भ्रम सिर्जना गर्ने प्रयास भएको दाबी गरे।
‘द टोन मिडिया’सँग कुराकानी गर्दै उनले भने, “विकास र समृद्धिको स्पष्ट योजना अघि सारेपछि केही तत्व आत्तिएका छन्। त्यसैले नियोजित रूपमा बदनाम गराउने प्रयास भएको हो। तर सत्यको जित हुन्छ।”
नेपाली कांग्रेसले अनुशासन उल्लंघनप्रति शून्य सहनशीलता अपनाउने सन्देश दिँदै आगामी निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी गराउन सबै कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरेको छ।