१७औँ एनआरएनए युरोपेली क्षेत्रीय सम्मेलनमा सहभागी हुन रोबिन शेरचन डब्लिन जाँदै

theoutsidenepal.com

१७औँ एनआरएनए युरोपेली क्षेत्रीय सम्मेलनमा सहभागी हुन रोबिन शेरचन डब्लिन जाँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन १०–११ अगस्टमा आयरल्यान्डको राजधानी डब्लिनमा आयोजना हुने १७औँ एनआरएनए युरोपेली क्षेत्रीय सम्मेलनमा सहभागी हुने भएका छन्।

युरोप र नेपाली समुदायबीच दशकौँदेखि कायम आपसी सम्मान, सहकार्य, श्रम, ज्ञान, सीप र अनुभवको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित सम्मेलनमा सहभागी हुन लागेको शेरचनले बताएका छन्।

सम्मेलनमा युरोपका विभिन्न मुलुकसँगै एसिया–प्रशान्त क्षेत्र, अष्ट्रेलिया, अमेरिका, क्यानडा, मध्यपूर्वलगायत विश्वका विभिन्न देशबाट करिब २५० जना प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।

सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली, बेलायतका लागि कार्यवाहक राजदूत बिपिन दुवाडी तथा परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुबेदीलगायतको सहभागिता रहने जनाइएको छ।

सम्मेलनलाई गैरआवासीय नेपालीका नागरिकता तथा अधिकार, रेमिटेन्सलाई लगानीसँग जोड्ने विषय, रोजगारी, सामाजिक सुरक्षा, नेपालमा डायस्पोराको ज्ञान, सीप र पूँजीको उपयोगलगायत साझा सरोकारका विषयमा छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।

वरिष्ठ उपाध्यक्ष शेरचनले युरोपमा रहेका नेपाली समुदायसँग आत्मीय भेटघाट गर्दै अनुभव, अपेक्षा र सुझाव आदानप्रदान गर्ने तथा आगामी दिनमा सहकार्यका नयाँ सम्भावना पहिल्याउने अवसरका रूपमा सम्मेलनलाई लिएको बताएका छन्।

उनले युरोपमा नेपाली समुदायले आफ्नो मेहनत, इमानदारी र पहिचानमार्फत नेपालको नाम विश्वसामु चिनाउँदै आएको उल्लेख गर्दै डायस्पोराको सामूहिक शक्ति र स्रोतलाई नेपाल निर्माणसँग जोड्नुपर्नेमा जोड दिएका छन्।

“युरोपसँग नेपालीको साइनो अझ गहिरो बनाऔँ, डायस्पोराको शक्ति नेपाल निर्माणमा जोडौँ,” शेरचनले भनेका छन्।

डब्लिनमा हुने सम्मेलनले नेपाली डायस्पोराका साझा मुद्दामाथि सार्थक संवाद अघि बढाउँदै नेपाल र युरोपबीचको सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।


प्रतिक्रिया