सुदन गुरुङको पुनः गृहमन्त्रीमा नियुक्ति – आजै शपथ
काठमाडौं । सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह ले गुरुङलाई पुनः गृहमन्त्री बनाउने निर्णय लिएका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार नै नियुक्तिका लागि सिफारिस गरिएको छ भने दिउँसो ३ बजे शपथग्रहण कार्यक्रम तय भएको छ।
यसअघि लगानीसम्बन्धी विवाद र सम्पत्ति विवरणमा उठेका प्रश्नपछि गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए। पछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो, जसले प्रतिवेदन बुझाइसकेको छ र मन्त्रिपरिषद्ले पनि उक्त प्रतिवेदन स्वीकार गरेको बताइएको छ।
छानबिन प्रतिवेदनअनुसार गुरुङको नाममा धनकुटा र चितवनसहित विभिन्न स्थानमा जग्गा रहेको विवरण उल्लेख भए पनि त्यसको मूल्यांकनलाई लिएर अस्वाभाविक ठहर गर्न नसकिने निष्कर्ष निकालिएको बताइएको छ।
यससँगै राजनीतिक वृत्तमा चर्चामा रहेका गुरुङ पुनः सरकारमा फर्किने भएका छन्।