प्रधानमन्त्री बालेन शाहको अपिल: सुनसरी घटनामा न्याय, संयम र सामाजिक सद्भाव कायम राख्न आग्रह

theoutsidenepal.com

प्रधानमन्त्री बालेन शाहको अपिल: सुनसरी घटनामा न्याय, संयम र सामाजिक सद्भाव कायम राख्न आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।


सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा प्रधानमन्त्री शाहले सुनसरीको घटनाले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि अत्यन्त दुःखी भएको उल्लेख गरेका छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र प्रभावित परिवारको पीडा आफूले महसुस गरेको बताएका छन्।

प्रधानमन्त्री शाहले घटनाका दोषीमाथि कानुनबमोजिम निष्पक्ष कारबाही हुने विश्वास दिलाउँदै यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक निर्णय र सुधारका कदम अघि बढाइरहेको जानकारी दिएका छन्। उनले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु र घाइते हुनु कुनै पनि हिसाबले सामान्य विषय नभएको उल्लेख गर्दै यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनी कारबाही हुने स्पष्ट पारे।

सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पीडितलाई न्यायको अनुभूति गराउन राज्यले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले नागरिकलाई संयमित रहन, आक्रोश, बदला र उत्तेजनाको भावनाबाट टाढा रहन तथा कुनै पनि उक्साहटमा नलाग्न आग्रह गरेका छन्। “मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो,” भन्दै उनले सबैलाई प्रेम, सम्मान र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

प्रधानमन्त्री शाहले सरकारले नागरिकको सुरक्षा सुनिश्चित गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने तथा दोषीलाई कानुनी दायरामा ल्याउने कार्य यथाशीघ्र सम्पन्न गर्ने विश्वास समेत व्यक्त गरेका छन्।


प्रतिक्रिया