रास्वपा ललितपुर महानगरको प्रथम ऐतिहासिक नगर अधिवेशन भव्य रूपमा सम्पन्न, ललित महर्जन सर्वसम्मत सभापति निर्वाचित

theoutsidenepal.com

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ललितपुर जिल्ला अन्तर्गत ललितपुर महानगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन मिति २०८२ साल पौष २६ गते भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

अधिवेशन अर्जुन थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा पूर्व श्रम मन्त्री डिपी अर्यालको उपस्थिति रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व खेलकुद मन्त्री आदरणीय विराज भक्त श्रेष्ठ तथा विशेष अतिथिका रूपमा पूर्व स्वास्थ्य मन्त्री आदरणीय डा. तोसिमा कार्की, आदरणीय दीपक बोहोरा र आदरणीय डा. अच्युतम लामीछानेलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, पालिका तथा वडा तहका नेता–कार्यकर्ताहरूको उत्साहजनक सहभागितामा सम्पन्न अधिवेशनले संगठन विस्तार र सुदृढीकरणमा महत्वपूर्ण सन्देश दिएको छ।


अधिवेशनमार्फत सर्वसम्मत रूपमा ललित महर्जनलाई ललितपुर महानगर सभापतिमा निर्वाचित गरिएको छ। साथै अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्।


निर्वाचित सभापति ललित महर्जनको अध्यक्षतामा सोही दिन बसेको पहिलो बैठकले हसना महर्जनलाई कोषाध्यक्षमा नियुक्त गर्दै नयाँ कार्यकालको औपचारिक सुरुवात गरिएको छ।


त्यसैगरी जिल्ला अधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू पनि निर्विरोध चयन गरिएको छ। अधिवेशनकै अवसरमा सयौँको संख्यामा पार्टी प्रवेश कार्यक्रम समेत उत्साहका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।


रास्वपा ललितपुर जिल्ला उपसभापति प्रभा कार्कीले आयोजक समिति तथा कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनु भएका सम्पूर्ण नेता–कार्यकर्ताप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ।


साथै पार्टी प्रवेश गरेका सम्पूर्ण सदस्यहरूलाई हार्दिक स्वागत गर्दै निर्वाचित सम्पूर्ण समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।


कार्यक्रमले ललितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया