३०० शैय्याको केन्द्रीय विशेषज्ञ अस्पताल बनाउने लक्ष्यमा शुक्रराज ट्रपिकल अस्पताल

theoutsidenepal.com

३०० शैय्याको केन्द्रीय विशेषज्ञ अस्पताल बनाउने लक्ष्यमा शुक्रराज ट्रपिकल अस्पताल

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले अस्पताललाई ३०० शैय्याको केन्द्रीय स्तरको ट्रपिकल तथा सरुवा रोगसम्बन्धी विशेषज्ञ अस्पतालका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको बताएका छन्।

निर्देशक डा. बास्तोलाले अस्पतालको तर्फबाट सम्पूर्ण सेवाग्राही, आगन्तुक तथा शुभेच्छुकहरूमा स्वागत तथा शुभकामना व्यक्त गर्दै नेपालमा ट्रपिकल तथा सरुवा रोगको रोकथाम, निदान तथा उपचारमा अस्पतालले लामो समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्।

उनका अनुसार अस्पतालले सेवाग्राहीलाई गुणस्तरीय, सुलभ र सेवाग्राहीमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ। समर्पित स्वास्थ्य जनशक्ति, आधुनिक प्रविधि तथा सेवा सुधारका प्रयासमार्फत उपचार सेवालाई थप प्रभावकारी र उच्चस्तरीय बनाउने दिशामा अस्पताल अघि बढिरहेको उनले बताएका छन्।

निर्देशक डा. बास्तोलाले स्वास्थ्य सेवामा सहानुभूति, व्यावसायिकता र उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखिएको बताए। सेवाग्राहीको विश्वास कायम राख्दै पारदर्शिता र उत्तरदायित्वसहित गुणस्तरीय सेवा प्रदान गर्नु अस्पतालको प्रमुख प्राथमिकता रहेको उनको भनाइ छ।

सरुवा तथा ट्रपिकल रोगसम्बन्धी विशेषज्ञ सेवाको आवश्यकता बढ्दै गएको अवस्थामा अस्पतालको क्षमता विस्तार गरी थप व्यवस्थित र आधुनिक सेवा प्रवाह गर्ने लक्ष्य अस्पतालले अघि सारेको छ। ३०० शैय्याको केन्द्रीय विशेषज्ञ अस्पतालका रूपमा विकास भएपछि सरुवा तथा ट्रपिकल रोगको उपचार, निदान तथा रोकथाममा थप प्रभावकारी योगदान पुग्ने अपेक्षा गरिएको छ।

डा. बास्तोलाले अस्पतालको सेवा विस्तार र सुधारमा योगदान पुर्‍याउने सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्। साथै आगामी दिनमा पनि अस्पतालको प्रगति र सेवाको गुणस्तर अभिवृद्धिका लागि सबैको निरन्तर सहयोग आवश्यक रहेको बताएका छन्।


प्रतिक्रिया