कांग्रेसको उपसभापतिमा समावेशीतर्फ विनोद चौधरी निर्वाचित
द टन न्युज । काठमाडौं ।
समावेशीतर्फ विनोद चौधरी निर्वाचित
यसैबीच, नेपाली कांग्रेसको समावेशीतर्फको उपसभापति पदमा उद्योगपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी निर्वाचित भएका छन्।
चौधरीले जीवन परियार, रञ्जित कर्ण, फरमुल्लाह मन्सुर र सीता गुरुङलाई पछि पार्दै उपसभापति पदमा सफलता हासिल गरेका हुन्। उपलब्ध विवरणअनुसार उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ७४५ मत प्राप्त गरेका छन्। चौधरीले प्राप्त गरेको मत संख्या भने आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ।
चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट नवलपरासी क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए। यद्यपि, २०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विक्रम खनालसँग पराजित भएका थिए। यसअघि उनी विभिन्न राजनीतिक दलबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेका थिए।
कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका चौधरी गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य बनेका थिए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुलातर्फ चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशीतर्फ विनोद चौधरी उपसभापतिमा निर्वाचित भएसँगै पार्टीको आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको टिम निर्माण हुने प्रक्रिया अघि बढेको छ।