निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

theoutsidenepal.com

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक रहेको जनाइएको छ।

इच्छुक उम्मेदवारले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्। सार्वजनिक बिदाका दिन पनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जनाएको छ। काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला प्रहरी परिसर तथा देशभरका जिल्ला प्रहरी कार्यालयबाट दरखास्त फारम लिन र बुझाउन सकिनेछ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, सामान्य लेखपढ गर्न जान्ने नेपाली नागरिकले आवेदन दिन पाउनेछन्। माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन भई माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गरिनेछ। छनोट भएका उम्मेदवारले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्नेछ।

निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन रहनेछ। सो अवधिका लागि रु. ३४,७७६ तलब, आउजाउ तथा तयारी खर्चबापत रु. ८४६, ४ दिनका लागि दैनिक रु. ३०० का दरले खाजा खर्च उपलब्ध गराइनेछ। पोसाक खर्च अलगै व्यवस्था गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया