सिराहा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समर्थनमा तराई–मधेश क्षेत्रमा युवाहरू खुलेर सडकमा उत्रिन थालेका छन्। सिराहा जिल्लाको लहान–२१ सहित विभिन्न स्थानमा युवाहरूले घण्टी चिन्ह र बालेन शाहको तस्वीरसहित ‘यो पल्ट बालेन सरकार’ लेखिएका ब्यानर तथा पोस्टर बोकेर समर्थन जनाएका दृश्यहरू देखिन थालेका छन्।
स्थानीय युवाहरूका अनुसार पछिल्लो समय तराईका पोल–पोल, घर–घर, टोल–टोलमा यस्ता पोस्टरहरू टाँसिन थालेका छन्, जसले आगामी चुनावी माहौललाई थप तातो बनाएको छ। विशेषगरी युवा पुस्तामा वैकल्पिक राजनीति र नयाँ नेतृत्वप्रतिको आकर्षण बढ्दै गएको संकेतका रूपमा यसलाई हेरिएको छ।
युवाहरूबीच केही समयअघि रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे समझदारी भएको चर्चा पनि तीव्र छ। सो समझदारीअनुसार फागुन २१ पछि बालेन शाह दलको नेता हुँदै प्रधानमन्त्रीका उम्मेदवार बन्ने र पार्टी सभापति रवि लामिछाने रहने विषयमा सहमति भएको दाबी समर्थकहरू गर्दै आएका छन्। यद्यपि यस विषयमा सम्बन्धित पक्षबाट औपचारिक घोषणा भने आइसकेको छैन।
तराईमा देखिएको यो गतिविधिलाई विश्लेषकहरूले परम्परागत दलहरूबाट निराश युवाहरूको वैकल्पिक राजनीतिक खोजको संकेतका रूपमा लिएका छन्। सामाजिक सञ्जालदेखि सडकसम्म फैलिँदै गएको ‘यो पल्ट बालेन सरकार’ अभियानले आगामी दिनमा राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढ्दै गएको छ।