काठमाडौं — नेपाली कांग्रेसका प्रभावशाली नेता डा. अबुल हुसेन अन्सारी ले पार्टी सभापति शेरबहादुर देउवासँग आज बिहान भएको भेटमा प्राप्त संवादलाई जस्ताको त्यस्तै भन्दै आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्। अन्सारीका अनुसार सभापति देउवाले पार्टी एकता र सहमतिका लागि अन्तिम क्षणसम्म गम्भीर प्रयास गरे पनि अपेक्षित संवेदनशीलता नदेखिएको बताएका छन्।
अन्सारीले सेयर गरेको संवादअनुसार सभापति देउवाले भेटमा भनेका छन्—
“मैले सर्वोत्तम कोशिश गरेको हो। सबै कुरा छोड्छु भनेकै हो। सभापति जी, हामी कुरा गरेर आउँछु भनेर गएको हो। गगन र विश्वप्रकाश खोई, आएनन् त। आएनन् भने म के गरौँ? ठीक छ, तपाईंहरू अगाडि बढ्नुहोस्, सफलता आफैँ ल्याउँछ।”
डा. अन्सारीका अनुसार यस संवादले स्पष्ट देखाउँछ कि देउवाले कुनै पनि ठाउँमा कमजोरी नगरी सहमतिका लागि पहल गरेका थिए। तर विश्वप्रकाश शर्मा र गगन थापा भेटमा उपस्थित नभएको र संवेदनशीलता नदेखाएको सन्दर्भ उनले उठाएका छन्।
अन्सारीले भनेका छन् कि आज बिहानको भेटमा भएका संवादका तथ्यहरू बिस्तारै सार्वजनिक हुँदै जाने छन् र यसबाट पार्टी सभापति देउवामाथि लगाइँदै आएको दोषारोपण न्यायोचित नरहेको प्रस्ट हुने दाबी गरेका छन्।
उनले अन्त्यमा पार्टीभित्र संयम, संवाद र एकताको आवश्यकता औंल्याउँदै लेखेका छन्—“हाम्रो आदरणीय पार्टी सभापति कुनै ठाउँमा चुकेका छैनन्। उहाँलाई दोषारोपण गर्ने ठाउँ पनि छैन।”
उक्त पोस्टसँगै डा. अन्सारीले “जय नेपाल” र “शुभ प्रभात” सन्देशसमेत दिएका छन्।