डा. सुनील कुमार शर्माको महामन्त्री उम्मेदवारी दर्ता आज, सामूहिक रूपमा मनोनयनस्थल जाने तयारी
द टन न्युज । काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनील कुमार शर्माले आज आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्ने भएका छन्। कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार आज असोज २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।
डा. शर्माको सचिवालयले जारी गरेको आमन्त्रण तथा सूचनाअनुसार बिहान १२ बजे न्यु प्लाजास्थित डा. सुनील कुमार शर्माको सचिवालय (Vibrant), सम्पर्क कार्यालयबाट सहभागीहरू सामूहिक रूपमा उम्मेदवारी मनोनयन दर्ता गर्ने स्थानतर्फ प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ।
सचिवालयले नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई कार्यक्रममा उपस्थित भई डा. शर्माको उम्मेदवारी दर्ता कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
डा. शर्माले यसअघि नै कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। उनले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने, दूरदराजका नागरिकका समस्या र आवश्यकतालाई पार्टीको राजनीतिक एजेन्डाको केन्द्रमा राख्ने अभियानसहित महामन्त्री पदमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन्।
शर्माले कांग्रेसलाई जनतासँग जोड्ने, कांग्रेसलाई बलियो बनाउने र त्यसपछि देश निर्माणको अभियानलाई अघि बढाउने आफ्नो प्राथमिकता रहेको बताउँदै आएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन समितिले संशोधित कार्यतालिकाअनुसार दिउँसो १२:३० देखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ।