उज्यालो नेपाल पार्टीको केन्द्रीय पर्यटन विभाग सदस्यमा पेम्बा छिरी शेर्पा मनोनीत

theoutsidenepal.com


फागुन २१ को निर्वाचनमा सोलुखुम्बुबाट प्रत्यक्ष उम्मेदवारी दिने तयारी


सगरमाथाको काखमा अवस्थित सोलुखुम्बु जिल्लाका ऊर्जाशील युवा नेता तथा जेन–जी लिडर पेम्बा छिरी शेर्पा उज्यालो नेपाल पार्टीको केन्द्रीय पर्यटन विभाग सदस्यमा मनोनीत भएका छन्। उज्यालो नेपाल पार्टीका नायक तथा हाल जेन–जी नेतृत्वको सरकारमा तीन मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङको भावी दलका रूपमा हेरिएको उज्यालो नेपाल पार्टीले युवा नेतृत्वप्रति देखाएको विश्वासको स्पष्ट संकेतका रूपमा यो मनोनयनलाई हेरिएको छ।


पर्यटन, पहिचान र स्थानीय अर्थतन्त्रसँग गहिरो सम्बन्ध राख्ने सोलुखुम्बुजस्तो जिल्लाबाट उदाएका पेम्बा छिरी शेर्पा लामो समयदेखि युवा सशक्तीकरण, स्थानीय पर्यटन प्रवर्द्धन र विकासका मुद्दामा सक्रिय रहँदै आएका छन्। पार्टीको केन्द्रीय तहमा जिम्मेवारी पाउनुले उनको आत्मबल बढाएको मात्र होइन, उज्यालो नेपाल पार्टीको भावी राजनीतिक यात्रामा युवाको भूमिकालाई थप मजबुत बनाएको विश्लेषकहरूको बुझाइ छ।


यसैबीच, आउँदै गरेको फागुन २१ गते हुने निर्वाचनका लागि पेम्बा छिरी शेर्पा सोलुखुम्बु जिल्लाबाट उज्यालो नेपाल पार्टी (कुलमान घिसिङको टिम) को तर्फबाट प्रत्यक्ष उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रने तयारीमा रहेका छन्। उनले सोलुखुम्बुको पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न, स्थानीय युवालाई रोजगारीसँग जोड्न र पहाडी–हिमाली क्षेत्रको आवाज संसदसम्म पुर्‍याउने आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्।


युवा पुस्ताको प्रतिनिधित्व गर्दै राजनीति गर्ने दृढ संकल्पका साथ अघि बढिरहेका पेम्बा छिरी शेर्पालाई उज्यालो नेपाल पार्टीले केन्द्रीय जिम्मेवारी दिएसँगै सोलुखुम्बुको राजनीतिक माहोल थप तरंगित बनेको छ। स्थानीयस्तरदेखि केन्द्रसम्म नयाँ अनुहार र नयाँ सोचको माग बढिरहेका बेला उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


केन्द्रीय पर्यटन विभाग सदस्यमा मनोनीत हुनुका लागि पेम्बा छिरी शेर्पालाई हार्दिक बधाई, साथै उनको आगामी राजनीतिक यात्राको उज्ज्वल सफलताको शुभकामना व्यक्त गरिएको छ।


प्रतिक्रिया