अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको नेपाल फेस्टिभलमा सहभागिताले नेपाली समुदाय उत्साहित, रोविन शेरचनले भने– नेपाल र अस्ट्रेलियाको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास
द टन न्युज ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज (Anthony Albanese) सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा सहभागी हुनुभएको छ। नेपाली समुदायसँग तिहार मनाउँदै नेपाली कला, संस्कृति र पहिचानप्रति सम्मान व्यक्त गर्नुभएका प्रधानमन्त्री अल्बानिजको सहभागिताले अस्ट्रेलियामा रहेका नेपाली समुदायमा उत्साह थपेको छ।
प्रधानमन्त्री अल्बानिजले सामाजिक सञ्जालमार्फत नेपाली समुदायसँग सिड्नीमा तिहार मनाउन पाउँदा खुसी लागेको उल्लेख गर्दै विविधता नै अस्ट्रेलियाको शक्ति भएको र नेपाली समुदाय अस्ट्रेलियाको महत्वपूर्ण हिस्सा रहेको बताउनुभएको छ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तथा नेपाल फेस्टिभलमा उहाँको सहभागितालाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोविन प्रसाद शेरचनले विशेष महत्वका साथ आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।
प्रधानमन्त्री अल्बानिजको स्टाटस सेयर गर्दै वरिष्ठ उपाध्यक्ष शेरचनले अस्ट्रेलियाका प्रधानमन्त्रीको नेपाली समुदायप्रतिको सद्भाव र सहभागिताले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
शेरचनले नेपाल फेस्टिभललाई केवल नेपाली कला, संस्कृति र परम्परा प्रदर्शन गर्ने उत्सवका रूपमा मात्र नभई दुई देशबीच आपसी सद्भाव, समझदारी, मित्रता र सहकार्य विस्तार गर्ने महत्वपूर्ण सेतुका रूपमा व्याख्या गर्नुभएको छ!
उहाँका अनुसार विश्वका विभिन्न देशमा आयोजना हुने नेपाल फेस्टिभलमा सम्बन्धित देशका सरकारका प्रतिनिधि, राजनीतिक नेतृत्व, कूटनीतिक नियोग, स्थानीय निकाय तथा सरोकारवालाहरूको सहभागिता सुनिश्चित गर्न आवश्यक छ। यसले नेपालको कला, संस्कृति, पर्यटन, भाषा र मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै पर्यटन, व्यापार, लगानी र जनस्तरको सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने उहाँको धारणा छ।
शेरचनले अस्ट्रेलियाका प्रधानमन्त्रीप्रति नेपाली समुदायको उत्सवमा सहभागी भई नेपाली पहिचान र योगदानलाई सम्मान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्नुभएको छ। साथै, नेपाल फेस्टिभल सफल बनाउन योगदान पुर्याउने एनआरएनए अस्ट्रेलियाका पदाधिकारी, आयोजक, स्वयंसेवक, कलाकार, प्रायोजक तथा सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिनुभएको छ।
उहाँले विश्वभर आयोजना हुने नेपाल फेस्टिभललाई पर्यटन, व्यापार, लगानी, ज्ञान, सीप र कूटनीतिक सम्बन्ध विस्तारको प्रभावकारी माध्यम बनाउनुपर्नेमा जोड दिनुभएको छ।
‘हामी जहाँ रहे पनि हाम्रो पहिचान नेपाल हो। हाम्रो भाषा, संस्कृति, कला, परम्परा र एकताले नै हामीलाई विश्वसामु चिनाउँछ,’ शेरचनले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।
नेपालको गौरव, नेपालीको पहिचान र विश्वभर फैलिएको नेपाली समुदायको एकतालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ।
नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरबाट अझ बलियो बनाउने अवसरका रूपमा नेपाल फेस्टिभललाई लिनुपर्ने सन्देश शेरचनले दिनुभएको छ।