२५ जनाको ज्यान लिएको ‘धुर्वे’ हात्ती नियन्त्रणमा ल्याइँदै, GPS जडान र दाह्रा काटिने

theoutsidenepal.com

जंगली हात्तीको आक्रमणबाट मानव–वन्यजन्तु द्वन्द्व बढिरहेका बेला चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरसँग टन मिडिया ग्रुपका अध्यक्ष एचबी ताम्राकारले कुख्यात ‘धुर्वे’ हात्तीबारे विशेष संवाद गर्नुभएको छ।

संवादका क्रममा सूचना अधिकारी थापामगरले धुर्वे हात्तीलाई नियन्त्रणमा लिने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार धुर्वेलाई विशेष टोलीमार्फत पक्राउ गरी नयाँ रेडियो GPS कलर जडान गर्ने तथा आवश्यक प्राविधिक मूल्याङ्कनपछि दाह्रा काट्ने प्रक्रिया पनि अघि बढाइनेछ। यसबाट हात्तीको गतिविधि निरन्तर निगरानी गर्न र मानव बस्तीमा प्रवेश गरेमा समयमै सूचना प्रवाह गर्न सहज हुने अपेक्षा गरिएको छ।

धुर्वे हात्ती विगत धेरै वर्षदेखि चितवन र आसपासका क्षेत्रमा मानवमाथि आक्रमण गर्दै आएको हात्तीका रूपमा चिनिन्छ। निकुञ्जका अनुसार यस हात्तीको आक्रमणबाट हालसम्म करिब २५ जनाले ज्यान गुमाइसकेका छन्। हालै चितवनको भरतपुर क्षेत्रमा एक आमा र चार वर्षीय छोराको समेत ज्यान गएपछि धुर्वेलाई नियन्त्रणमा लिनुपर्ने माग थप चर्किएको छ।

सूचना अधिकारी थापामगरले मानव सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर वैज्ञानिक र प्राविधिक विधिबाट धुर्वेलाई व्यवस्थापन गरिने बताउनुभयो। उहाँले स्थानीय बासिन्दालाई पनि जंगली हात्ती देखिएमा अनावश्यक जोखिम नमोल्न, तत्काल निकुञ्ज वा सुरक्षा निकायलाई जानकारी गराउन तथा सतर्कता अपनाउन आग्रह गर्नुभयो।

धुर्वे हात्तीबारेको यो विशेष संवाद आज टन मिडिया ग्रुपका विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने जनाइएको छ।


प्रतिक्रिया