सामुदायिक शिक्षामा कृष्णपुरको नयाँ फड्को : ६ विद्यालयलाई अत्याधुनिक बस हस्तान्तरण
द टन न्युज । कञ्चनपुर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक पहुँचलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यसहित ६ वटा माध्यमिक विद्यालयलाई ५० सिट क्षमताका अत्याधुनिक बस हस्तान्तरण गरेको छ।
नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट बस खरिद गरी विद्यालयहरूलाई उपलब्ध गराएको हो। विशेषगरी विद्यालयदेखि टाढा रहेका विद्यार्थीलाई नियमित रूपमा विद्यालय आवतजावत गर्न सहज बनाउने उद्देश्यले गरिएको यो पहललाई सामुदायिक शिक्षा सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
नगरपालिकाले पहिलो चरणमा विद्यालयहरूसँग प्रस्तावना माग गरी आवश्यकताका आधारमा बस उपलब्ध गराएको जनाएको छ। SD 6 मापदण्डका आधुनिक बस विद्यालयलाई हस्तान्तरण भएपछि विद्यार्थीको सुरक्षित तथा सहज आवागमनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगर प्रमुख हेमराज ओझाको नेतृत्वमा कृष्णपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधारसँगै विद्यार्थीको पहुँच र सुविधालाई केन्द्रमा राखेर अघि बढेको नगरपालिकाले जनाएको छ।
बस प्राप्त गर्ने विद्यालयहरू:
१. राष्ट्रिय माध्यमिक विद्यालय — वडा नं. १
२. उदय माध्यमिक विद्यालय — वडा नं. २
३. नन्द माध्यमिक विद्यालय — वडा नं. ३
४. कृष्ण माध्यमिक विद्यालय — वडा नं. ४
५. महाकाली माध्यमिक विद्यालय — वडा नं. ६
६. विणा माध्यमिक विद्यालय — वडा नं. ८
नगरपालिकाको यो अभियानले ग्रामीण तथा टाढाका बस्तीबाट सामुदायिक विद्यालयमा आउने विद्यार्थीलाई यातायातको सहज पहुँच, नियमित विद्यालय उपस्थिति र अध्ययनमा निरन्तरता दिन सहयोग पुग्ने विश्वास गरिएको छ।
“विद्यार्थीलाई विद्यालयसम्म पुग्न यातायातकै कारण समस्या नहोस्” भन्ने उद्देश्यलाई व्यवहारमा उतार्दै कृष्णपुर नगरपालिकाले आफ्नै स्रोत परिचालन गरेर बस उपलब्ध गराउनु स्थानीय तहबाट सामुदायिक शिक्षामा गरिएको उल्लेखनीय लगानीका रूपमा हेरिएको छ।