हालै सम्पन्न निर्वाचनमा करिब दुई तिहाइ नजिकको प्रचण्ड बहुमतसहित निर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह समक्ष नेपाली भाषी भुटानी समुदायले आफ्नो पहिचान, भाषा र संस्कृतिको संरक्षणप्रति गम्भीर ध्यान दिन अपील गरेका छन्।
विश्व भुटानी हिन्दु संगठनका अध्यक्ष कमल धिमालले व्यक्त गरेको विचार अनुसार, भाषा र संस्कृतिकै कारण देशबाट लखेटिन बाध्य भएको भुटानी नेपाली समुदायले विश्वका विभिन्न मुलुकमा पुगेर पनि आफ्नो मौलिक पहिचान जोगाइराखेको उल्लेख गरेका छन्। उनले भनेका छन् कि, विस्थापनको पीडा भोगे पनि यो समुदायले आफ्नो भाषा, संस्कृति र सभ्यतालाई जोगाउन निरन्तर संघर्ष गरिरहेको छ, जुन अत्यन्तै प्रेरणादायी र उदाहरणीय छ।
धिमालका अनुसार, विभिन्न देशमा पुनर्वास भएपछि पनि भुटानी नेपालीहरूले आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन्। तर, उनीहरूको पहिचानको लडाइँ अझै समाप्त नभएको उनले स्पष्ट पारे।
प्रधानमन्त्रीसँग गरिएको अपीलमा उनले नेपाल सरकारले विश्वभर फैलिएका नेपाली भाषी भुटानी समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा पहल गर्नुपर्ने माग गरेका छन्। साथै, उनीहरूको योगदानलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत यो मुद्दालाई उठाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
धिमालले नयाँ सरकारबाट समावेशी नीति, सांस्कृतिक संरक्षण र विस्थापित समुदायप्रति सहानुभूतिपूर्ण दृष्टिकोण अपनाइने विश्वास व्यक्त गरेका छन्।