अमेरिकाको क्यालिफोर्निया निवासी युवा व्यवसायी तथा समाजसेवी प्रिन्स युवराज कार्कीले वर्तमान विश्व आर्थिक अवस्थालाई मध्यनजर गर्दै ऋणप्रति सतर्क रहन सबैलाई आग्रह गर्नुभएको छ।
कार्कीका अनुसार अहिले अमेरिका, नेपाल लगायत विश्वका अधिकांश देशहरू आर्थिक दबाबमा छन्। बजारहरू बाहिरबाट स्थिर देखिए पनि भित्रभित्रै कमजोर बन्दै गएका छन्। यस्तो अवस्थामा ऋण लिएर नयाँ घर, गाडी खरिद गर्ने वा क्रेडिट कार्डको अत्यधिक प्रयोग गर्नु बुद्धिमानी निर्णय नहुने उहाँको धारणा छ।
उहाँ भन्नुहुन्छ,
“आय नबढाउने कुनै पनि प्रकारका ऋण—घर, गाडी, व्यापार वा क्रेडिट कार्ड—असल ऋण होइनन्। यस्ता ऋणले आम्दानी होइन, तनाव, मानसिक अस्थिरता र जोखिम मात्र बढाउँछन्।”
प्रिन्स कार्कीले ऋणले व्यक्तिको मानसिक शान्ति खोस्न सक्ने र कहिलेकाहीँ जीवन नै संकटमा पार्न सक्ने चेतावनी दिँदै हाम्रा बुढापाकाको भनाइ स्मरण गराउनुभयो—
“शत्रु लागोस्, तर ऋण नलागोस्।”
उहाँका अनुसार अहिलेको सही रणनीति “Watch and Wait (हेर र पर्ख)” हो। देखासिकी, लहैलहै वा क्षणिक रमाइलोका लागि आम्दानी नहेरी ऋणमा डुब्नु घातक हुन सक्ने उहाँको भनाइ छ।
कार्कीले विशेषगरी ऋण लिएर बुझ्दै नबुझेको सेयर बजारमा लगानी गर्ने, अनुभव नभएको व्यापार सुरु गर्ने, महँगो गाडी र घर खरिद गर्ने तथा क्रेडिट कार्ड खर्चमा रमाउने प्रवृत्तिप्रति गम्भीर चेतावनी दिनुभएको छ।
उहाँले सुझाव दिनुहुन्छ—
“अहिले उचालिने, चम्किने समय होइन। गरिरहेको काममा ध्यान दिनु, अझ मेहनत गर्नु, काम छैन भने काम खोज्नु, अल्छीपन त्याग्नु र खर्चभन्दा बचतमा ध्यान दिनु नै समयको माग हो।”
प्रिन्स युवराज कार्कीका अनुसार संयम, धैर्य र विवेक प्रयोग गर्दै खर्च नियन्त्रण गर्नु र आम्दानी बढाउने दिशामा केन्द्रित हुनु नै अहिलेको सुरक्षित बाटो हो।