काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार गर्दै करिब ३०० भन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएकी छिन् । उनको नेतृत्वमा विकसित नेटवर्कले महिला उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ ।
व्यवसाय विस्तारसँगै विभिन्न उद्योग–व्यवसायमा लगानी गर्दै बहुआयामिक उद्यमीको रूपमा स्थापित महराले नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) मा कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेकी छन् भने हाल सचिवको भूमिकामा सक्रिय छिन् । विभिन्न पेसागत तथा सामाजिक संघसंस्थामा नेतृत्वदायी अनुभवले संस्थागत कार्यप्रणालीमा उनको पकड बलियो रहेको देखिन्छ ।
उम्मेदवारी घोषणा गर्दै महराले ‘सशक्त महिला नेतृत्व र उद्यमशीलताको आधार’ भन्ने मूल नारालाई अघि सारेकी छन् । उनले महिला सहभागिता विस्तार, साना तथा मझौला उद्यम (एसएमई) सुदृढीकरण र सेवा क्षेत्रको औपचारिकीकरणलाई प्राथमिकतामा राख्ने बताएकी छिन् ।
उद्योग–वाणिज्य क्षेत्रमा महिला नेतृत्व अझै सीमित रहेको अवस्थामा महराको उम्मेदवारीलाई सकारात्मक हस्तक्षेपका रूपमा हेरिएको छ । आर्थिक आत्मनिर्भरता, सीप–आधारित रोजगारी र महिला उद्यमी सशक्तिकरणका एजेन्डाले आगामी निर्वाचनमा नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
आगामी २९ र ३० गते हुने महासंघको ६०औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन हुनेछ । भावी नेतृत्वका लागि हेमराज ढकाल र अञ्जन श्रेष्ठ ले छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । ढकाल समूहबाट विभिन्न पदमा उम्मेदवारी घोषणा भइसकेको छ, जसअन्तर्गत सुष्मा महराले केन्द्रीय कार्यकारिणी सदस्य पदमा आफ्नो दाबी प्रस्तुत गरेकी हुन् ।