साइबर ब्युरोले बोलाएपछि कांग्रेस सहमहामन्त्री सिवाकोटीको जवाफ : ‘सरकारको भय र भ्रमले विचलित हुन्न, काठमाडौं आउँदै छु’

theoutsidenepal.com
  • साइबर ब्युरोले बोलाएपछि कांग्रेस सहमहामन्त्री सिवाकोटीको जवाफ : ‘सरकारको भय र भ्रमले विचलित हुन्न, काठमाडौं आउँदै छु’

द टन न्युज । काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु सिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ। काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका सिवाकोटीलाई फोनमार्फत सम्पर्क गरी साइबर ब्युरोमा उपस्थित हुन भनिएको हो।

सिवाकोटीले आफू साइबर ब्युरोमा उपस्थित हुने बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको भय र भ्रमले आफू विचलित नहुने उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नुपर्दैन, काठमाडौं आउँदै छु।’

पछिल्ला केही दिनदेखि सिवाकोटीले सरकारका निर्णय, विधि र प्रक्रियाबारे सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै आएका छन्। सरकारले विधिविधान मिचेर काम गरिरहेको र नेपाली कांग्रेसलाई अनावश्यक विवादमा तान्न खोजिएको उनको आरोप छ।

साइबर ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा सिवाकोटीलाई बोलाइएको हो।

यसअघि सिवाकोटीले पत्रकार खड्कासम्बन्धी विषयमा सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नको सरकारले जिम्मेवार ढंगले जवाफ दिनुपर्ने बताएका थिए।

त्यस्तै, प्रहरी हिरासतमा रहेका भनिएका इनम सापकोटाले प्रहरीसमक्ष दिएको भनिएको बयानको अडियो रेकर्डबारे पनि उनले प्रश्न उठाएका थिए।

साइबर ब्युरोले बोलाएपछि सिवाकोटीले दिएको प्रतिक्रियासँगै यो विषय राजनीतिक वृत्तमा थप चर्चामा आएको छ। अब उनी ब्युरोमा उपस्थित भएपछि अनुसन्धानले कुन दिशा लिन्छ भन्ने चासो बढेको छ।

द टन न्युज


प्रतिक्रिया