गैरआवासीय नेपालीको ज्ञान, सीप र पूँजीलाई राष्ट्र निर्माणसँग जोड्ने ऐतिहासिक अवसर : रोबिन शेरचन
Non-Resident Nepali Association का वरिष्ठ उपाध्यक्ष तथा व्यापार तथा लगानी विभागका अध्यक्ष Robin Sherchan ले नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीहरूको भूमिका, सहभागिता तथा योगदानलाई उच्च प्राथमिकताका साथ समेटिनु अत्यन्त सकारात्मक, दूरदर्शी र समयानुकूल पहल भएको बताएका छन् ।
उनले विशेषगरी “डायस्पोरा विज्ञ सञ्जाल” तथा “ज्ञान बैंक” स्थापना गर्ने घोषणालाई विश्वभर फैलिएका नेपालीहरूको ज्ञान, सीप, अनुभव, प्रविधि, अन्तर्राष्ट्रिय पहुँच तथा पूँजीलाई नेपालको समृद्धिसँग संस्थागत रूपमा जोड्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन् ।
शेर्चनका अनुसार आज विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूले आर्थिक, प्राविधिक, शैक्षिक, व्यावसायिक तथा नेतृत्वका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरूको अनुभव, क्षमता र अन्तर्राष्ट्रिय नेटवर्कलाई नेपालको आर्थिक रूपान्तरण, नवप्रवर्तन, उद्यमशीलता, रोजगारी सिर्जना तथा दीर्घकालीन विकासमा उपयोग गर्ने सरकारी प्रतिबद्धता प्रशंसनीय रहेको उनले उल्लेख गरेका छन् ।
त्यसैगरी पूँजी बजार सुधार, लगानीमैत्री वातावरण निर्माण, पूर्वाधार बन्ड, संस्थागत लगानी विस्तार तथा लगानी सुरक्षासम्बन्धी व्यवस्थाले नेपाललाई विश्वसनीय, प्रतिस्पर्धी र आकर्षक लगानी गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
उनले गैरआवासीय नेपालीहरूको लगानीलाई सुरक्षित, पारदर्शी र सहज बनाउने स्पष्ट नीतिगत संकेतले विश्वभर रहेका नेपाली लगानीकर्ताहरूमा नयाँ विश्वास र उत्साह सिर्जना गर्ने बताएका छन् ।
शेर्चनले अबको प्रमुख आवश्यकता नीति घोषणालाई प्रभावकारी कार्यान्वयनसँग जोड्नु रहेको उल्लेख गर्दै नीति र व्यवहारबीचको दूरी घटाउनुपर्नेमा जोड दिएका छन् । प्रक्रियागत सहजता, पारदर्शिता, सुशासन तथा लगानी सुरक्षालाई व्यवहारमै सुनिश्चित गर्न सकिए गैरआवासीय नेपालीहरूको सहभागिता अझ व्यापक र परिणाममुखी बन्ने उनको भनाइ छ ।
अन्त्यमा उनले विश्वभर छरिएर रहेका नेपालीहरूको ज्ञान, पूँजी, अनुभव र भावनात्मक सम्बन्धलाई राष्ट्र निर्माणको साझा शक्तिका रूपमा रूपान्तरण गर्दै समृद्ध, आत्मनिर्भर र अवसरयुक्त नेपाल निर्माणमा सरकार र गैरआवासीय नेपालीहरूबीचको सहकार्य आगामी दिनमा अझ सशक्त, परिणाममुखी र ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन् ।