एनआरएनए आईसीसी एशिया प्यासिफिक उपसंयोजकमा छत्र डिसी निर्विरोध चयन
काठमाडौँ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को १२औँ महाधिवेशनबाट छत्र डिसी एशिया प्यासिफिक उपसंयोजक पदमा निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै डिसीले आफूलाई निर्विरोध चयन गराउन सहयोग गर्ने सम्पूर्ण जापानबासी नेपाली समुदाय तथा एसिया क्षेत्रका प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्। “यस जिम्मेवारीका लागि विश्वास र समर्थन दिनु हुने सम्पूर्णप्रति म आभारी छु,” उनले उल्लेख गरेका छन्।
एनआरएनएको बृहत् एकता महाधिवेशनबाट चयन भएका डिसीलाई एशिया प्यासिफिक क्षेत्रमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै संस्थालाई अझ सशक्त बनाउने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको छ।
संस्थाभित्र अनुभव, समन्वय क्षमता र सक्रियताका आधारमा उनी निर्विरोध चयन भएको बताइएको छ। आगामी दिनमा एशिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरूको हकहित, एकता र सहभागिता अभिवृद्धिमा उनले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।