काठमाडौं:
प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रीय सदस्य पुकार बम संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। उनी Harvard University र Massachusetts Institute of Technology मा आयोजना हुने ‘The Nepal Discourse’ कार्यक्रममा विज्ञ वक्ताका रूपमा सहभागी हुने भएका हुन्।
हार्वर्ड ग्रेजुएट स्कूल अफ एजुकेशनसँग आबद्ध नेपाली विद्यार्थी संगठनद्वारा अप्रिल २५ र २६ मा आयोजना हुने उक्त दुईदिने सम्मेलनमा सांसद बमले नेपालको नीतिगत अवस्था, समसामयिक राजनीति तथा शैक्षिक सुधारका विषयमा आफ्नो धारणा राख्ने बताइएको छ।
सांसद बमका अनुसार वर्तमान संघीय संसदबाट उक्त कार्यक्रममा विज्ञ वक्ताका रूपमा आमन्त्रित हुने उनी एक मात्र सांसद हुन्। अमेरिका बसाइका क्रममा उनले त्यहाँ रहेका प्रबुद्ध नेपाली समुदाय, विभिन्न राज्यका नेपाली विज्ञ, प्राध्यापक तथा शिक्षाविद्हरूसँग शिक्षा, स्वास्थ्य र विकाससम्बन्धी विषयमा केन्द्रित छलफल गर्ने योजना बनाएका छन्।
करिब तीन हप्ताको भ्रमण अवधिमा प्राप्त सुझाव, अनुभव र सहकार्यका प्रस्तावहरूलाई नेपाल फर्किएपछि प्रतिनिधि सभा तथा सम्बन्धित निकायमा औपचारिक प्रतिवेदनका रूपमा पेश गर्ने उनले जनाएका छन्।
उनले यस भ्रमणले नेपालको नीति निर्माण तह र विदेशमा रहेका नेपाली विज्ञबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।