काठमाडौँ । मध्यपूर्वमा हालै घटेको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association) का केन्द्रीय उपाध्यक्ष मनोज गोर्खालीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले उक्त घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
गोर्खालीले वर्तमान असहज परिस्थिति, कानुनी जटिलता तथा सांगठनिक अन्योलतालाई मध्यनजर गर्दै संघका सम्पूर्ण अभियन्ता, संस्थापक तथा वर्तमान नेतृत्वको ध्यानाकर्षण गराएका छन्। मध्यपूर्वको घटनापछि उत्पन्न यात्रासम्बन्धी असहजताका कारण धेरै प्रतिनिधिहरू एयरपोर्टमा अलपत्र परेको र केहीको टिकट रद्द भएको अवस्थाले महाधिवेशनमा समुचित सहभागिता सुनिश्चित नहुने अवस्था सिर्जना भएको उनले उल्लेख गरेका छन्।
उनका अनुसार महाधिवेशन सुरु हुन करिब १० दिन मात्र बाँकी रहँदा समेत डेलिगेटहरूको अन्तिम नामावली टुंगोमा पुग्न नसक्नु चिन्ताजनक विषय हो। संघको विधान, कार्यविधि तथा कानुनी प्रक्रियाको पूर्ण पालना नगरी हतारमा गरिने १२ औँ ‘एकताको महाधिवेशन’ ले भविष्यमा थप जटिलता निम्त्याउन सक्ने जोखिम उनले औंल्याएका छन्। विगतका १० औँ र ११ औँ महाधिवेशनका अनुभवले एकताको आवश्यकता अझ स्पष्ट पारेको उनको भनाइ छ।
‘एकताको महाधिवेशन’ भन्ने साझा प्रतिबद्धता सबै पक्षलाई समेटेर, आपसी समझदारी र सहमतिका आधारमा मात्र सार्थक हुने उल्लेख गर्दै उनले कुनै पनि निर्णयमा हतार वा एकपक्षीयता देखिए विभाजन बढ्न सक्ने चेतावनी दिएका छन्।
संस्थाको गरिमा र विश्वसनीयता जोगाउन उनले निम्न प्रस्ताव अघि सारेका छन्–
- तुरुन्त सर्वपक्षीय छलफल आह्वान गरियोस्।
- सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुने गरी महाधिवेशनको मिति केही समयका लागि पुनर्विचार गरियोस्।
- निर्वाचन समिति तथा स्टेयरिङ कमिटीले कानुनी प्रक्रिया र डेलिगेट नामावलीमा पूर्ण पारदर्शिता कायम गरोस्।
नेतृत्व तहले समन्वय, संयम र दूरदर्शिताका साथ निर्णय लिई संस्थालाई थप जटिलतामा जानबाट जोगाउने विश्वास व्यक्त गर्दै उनले स्टेयरिङ कमिटी, निर्वाचन समिति तथा सम्पूर्ण पूर्व अध्यक्षहरूलाई समयमै आवश्यक पहल गर्न हार्दिक अनुरोध गरेका छन्।