काठमाडौं ।चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला को स्वास्थ्य अवस्था गम्भीर रहेको छ। चिकित्सकका अनुसार उहाँलाई ब्रेन ह्यामरेज भएको पुष्टि भएको छ र हाल उहाँ बेहोस अवस्थामा उपचाररत हुनुहुन्छ।
परिवारजन तथा नजिकका सहकर्मीहरूले दिएको जानकारीअनुसार सिटौलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकहरूको निगरानीमा निरन्तर उपचार भइरहेको छ। हालसम्मको अवस्थाबारे थप विवरण सार्वजनिक नगरिएको जनाइएको छ।
यस संवेदनशील परिस्थितिमा परिवार र सहकर्मीहरूले अप्रमाणित समाचार, अनुमान र अनावश्यक टिप्पणी नगर्न सबैमा आग्रह गरेका छन्। साथै, आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न अनुरोध गरिएको छ।
चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय सिटौलाले पत्रकार संघको नेतृत्व गर्दै उल्लेखनीय योगदान पुर्याएका थिए। उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै चलचित्रकर्मी, पत्रकार तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्।