द टन न्युज, काठमाडौँ — युवा व्यवसायी लोकनाथ अधिकारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक सन्देशले यतिबेला व्यापक ध्यान आकर्षित गरेको छ। उनले परिवारभित्रै आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याउँदै इमान्दार कमाइ र नैतिक जीवनशैलीको पक्षमा बलियो सन्देश दिएका छन्।
अधिकारीले आफ्नो स्टाटसमार्फत परिवारका सदस्यहरू—छोरा, श्रीमान, दाजुभाइ, सालो–साली र ज्वाइँसम्म—सबैलाई आफ्नै घरभित्र प्रश्न गर्न आग्रह गरेका छन्। “हाम्रो जीवन स्वाभाविक रूपमा अघि बढिरहेको छ कि छैन?” भन्ने प्रश्न उठाउँदै उनले सम्पत्ति वृद्धि, नयाँ घर निर्माण, व्यवसाय विस्तार र बढ्दो विलासी खर्चको स्रोतबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
उनका अनुसार यस्ता प्रश्नहरू कसैलाई दोष दिनका लागि नभई आफू सही बाटोमा छौं कि छैनौं भन्ने बुझ्नका लागि आवश्यक छन्। “यदि कमाइ इमान्दार छ भने डराउनु पर्दैन, तर गलत बाटोबाट आएको पैसा क्षणिक मात्रै हुन्छ,” उनले लेखेका छन्।
अधिकारीले अरूको दुःख र आँसुमाथि आधारित सुख कहिल्यै दीगो नहुने उल्लेख गर्दै त्यस्तो कमाइले अन्ततः व्यक्ति मात्र नभई पूरै परिवारलाई असर गर्ने चेतावनी दिएका छन्। “ढिलो–चाँडो, त्यही पैसाले पोल्छ,” भन्ने उनको भनाइ छ।
उनले समयमै सचेत भएर सही र गलत छुट्याउने साहस राख्न सबैलाई आग्रह गरेका छन्। “आज सचेत भयौं भने भोलि पछुताउनु पर्दैन, र परिवारको सम्मान सुरक्षित रहन्छ,” उनले उल्लेख गरेका छन्।
अधिकारीको यो सन्देशले विशेषगरी युवा पुस्ता र व्यवसायी समुदायमा नैतिकता, पारदर्शिता र जिम्मेवारीबारे पुनः बहस सुरु गराएको छ।