विपद् आउनुअघि तयारी गर्न गृहमन्त्री गुरुङको कडा निर्देशन

theoutsidenepal.com

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ ले विपद् व्यवस्थापनमा पुरानै शैली दोहोरिन नदिने चेतावनी दिँदै पूर्वतयारीलाई प्राथमिकता दिन सुरक्षा निकायका प्रमुखहरूलाई कडा निर्देशन दिनुभएको छ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बिहीबार आयोजित उच्चस्तरीय बैठकमा गृहमन्त्री गुरुङले विपद् आइसकेपछि मात्र उद्धार र राहतमा केन्द्रित हुने प्रवृत्तिले अपेक्षित नतिजा दिन नसकेको बताउनुभयो। उहाँले अब विपद् आउनुअघि नै आवश्यक तयारी, समन्वय र सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो।


बैठकमा गृहमन्त्री गुरुङले बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा विगतमा हेलिकप्टरको व्यापक दुरुपयोग भएको टिप्पणी गर्दै वर्तमान सरकारका मन्त्रीहरूले अनावश्यक रूपमा हेलिकप्टर प्रयोग नगर्ने स्पष्ट पार्नुभयो। उहाँले आफू स्वयं पनि हेलिकप्टर चढेर राज्यकोषको दुरुपयोग नगर्ने घोषणा गर्दै उद्धार कार्य तथा सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले विपद्को बहानामा हेलिकप्टर प्रयोग गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने बताउनुभयो।


उहाँले उच्च जोखिमयुक्त बाढी–पहिरो प्रभावित क्षेत्रहरूमा अग्रिम तयारी अवस्थामा रहन निर्देशन दिँदै सबै निकाय एकीकृत रूपमा परिचालन भए विपद्बाट हुने मानवीय क्षति शून्यमा झार्न सकिने विश्वास व्यक्त गर्नुभयो। “विपद्कै कारण कसैले ज्यान गुमाएको खबर सुन्न नपरोस्,” भन्दै उहाँले सम्बन्धित निकायहरूलाई थप जिम्मेवार र सक्रिय बन्न आग्रह गर्नुभयो।


बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखहरू, विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।


प्रतिक्रिया