ऐतिहासिक कूटनीतिक पहल—प्रधानमन्त्री बालेन्द्र शाह द्वारा विश्व समुदायसँग सामूहिक संवाद

theoutsidenepal.com

द टन न्युज , काठमाडौं—नेपालको कूटनीतिक इतिहासमा एक महत्वपूर्ण र दूरगामी सन्देश दिने कदमस्वरूप प्रधानमन्त्री बालेन्द्र शाह ले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विश्वका विभिन्न शक्तिशाली तथा मित्र राष्ट्रका राजदूत एवं कूटनीतिक नियोग प्रमुखहरूसँग उच्चस्तरीय सामूहिक भेटवार्ता गर्नुभएको छ।


यस ऐतिहासिक भेटघाटमा भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, जापान, कतार, साउदी अरेबिया, इजरायल लगायत १७ भन्दा बढी राष्ट्र तथा संयुक्त राष्ट्र सङ्घ का प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले नेपालको अन्तर्राष्ट्रिय महत्व र विश्वासलाई अझ सुदृढ बनाएको संकेत गरेको छ।


राजदूतहरूले प्रधानमन्त्री शाहलाई हार्दिक बधाई दिँदै उहाँको सफल कार्यकालको कामना गरेका छन्। साथै, नेपालको समृद्धि, स्थायित्व र विकास यात्रामा आफ्नो देशको तर्फबाट पूर्ण समर्थन र सहकार्य रहने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रधानमन्त्री शाहले यस अवसरमा नेपालको सन्तुलित, स्वतन्त्र र व्यावहारिक परराष्ट्र नीतिलाई पुनः स्पष्ट पार्दै छिमेकी तथा मित्र राष्ट्रहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने दृढ अठोट व्यक्त गर्नुभयो। उहाँले शान्ति, स्थायित्व र विकासलाई साझा प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै विदेशमा रहेका नेपाली श्रमिक र प्रवासी समुदायको सुरक्षा तथा हित सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो।


साथै, सुशासन, आर्थिक विकास र नागरिकको जीवनस्तर उकास्ने सरकारको स्पष्ट प्रतिबद्धता प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले नेपाललाई विश्वसामु विश्वसनीय, स्थिर र लगानीयोग्य राष्ट्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको धारणा व्यक्त गर्नुभयो।


उक्त अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत उच्चपदस्थ सरकारी अधिकारीहरूको समेत सहभागिता रहेको थियो।


यो कूटनीतिक संवादलाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, विश्वास अभिवृद्धि गर्ने र बहुआयामिक सहकार्य विस्तार गर्ने ऐतिहासिक पहलका रूपमा हेरिएको छ।


प्रतिक्रिया