काठमाडौँ — विश्वभर रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनबाट पोर्चुगल निवासी भिमसेन थापा युवा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचनपछि नवनिर्वाचित युवा उपाध्यक्ष थापाले महाधिवेशन सफल बनाउन योगदान पुर्याउने प्रतिनिधिहरू, नेपाल सरकार, अग्रज नेतृत्व, शुभेच्छुक तथा सञ्चार जगतप्रति हार्दिक आभार व्यक्त गरे। “मलाई यो महत्वपूर्ण जिम्मेवारीमा पुर्याई विश्वास गर्नुहुने सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,” उनले भने।
थापाले आफूलाई दिइएको जिम्मेवारीलाई गम्भीर सामाजिक तथा राष्ट्रिय दायित्वका रूपमा लिँदै परिणाममुखी काममार्फत विश्वासको सम्मान गर्ने प्रतिबद्धता जनाए। “विश्वभर छरिएका नेपाली युवाहरूलाई एकताबद्ध गर्दै उनीहरूको क्षमता, सीप र अनुभवलाई मातृभूमिसँग जोड्ने मेरो प्राथमिकता हुनेछ,” उनले बताए।
उनका अनुसार नेपाली युवा शक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउँदै उनीहरूको हक–अधिकार सुनिश्चित गर्न विशेष पहल गरिनेछ। साथै, प्रवासी नेपाली युवामा राष्ट्रिय पहिचान, भाषा, संस्कृति र मूल्यप्रतिको लगाव बढाउने, भावी पुस्तामा नेपालीपनप्रति गर्व गर्ने वातावरण निर्माण गर्ने तथा नेपाल र डायस्पोराबीचको सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा काम गरिने उनले बताए।
थापाले युवा लक्षित नीतिगत पहल, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र सीप विकासका कार्यक्रममार्फत प्रवासी नेपाली युवाको सशक्तीकरणमा जोड दिने स्पष्ट पारे।