हिउँआँधीबीच पनि श्रद्धा र समर्पण निरन्तर—न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ को २२औँ दिन सफल, $९,८७९.११ संकलन

theoutsidenepal.com

न्यूयोर्क — नेपाली–अमेरिकन विभिन्न संघ–संस्था तथा मिडिया पार्टनरहरूको संयुक्त सहकार्यमा रिजउड नेपाली समाज (RNS) द्वारा आयोजित श्रीस्वस्थानी व्रतकथा – न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ को २२औँ दिनको कार्यक्रम शनिबार, जनवरी २४, २०२६ का दिन श्रद्धा, भक्ति र सौहार्दपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ।

न्यूयोर्कस्थित एकमात्र नेपाली मन्दिर दुर्गा मन्दिर तथा न्यूयोर्क नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्र, रिजउड (DTNCC) मा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता श्री गिरिजा गौतमज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।

न्यूयोर्क क्षेत्रमा परेको भीषण हिउँआँधी (Snow Storm) र प्रतिकूल मौसमका बाबजुद पनि श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता, उच्च सतर्कता र व्यवस्थित व्यवस्थापनका कारण कार्यक्रम सफलतापूर्वक निरन्तरता दिन सकिएको आयोजक समितिले जनाएको छ। यो कार्य आयोजक समितिको समर्पण, जिम्मेवारी र सामुदायिक प्रतिबद्धताको सशक्त उदाहरण बनेको छ।

कार्यक्रमका क्रममा कर्ता तथा श्रद्धालु भक्तजनहरूको सप्रेम दान, भेटी तथा सहयोगबाट कुल $९,८७९.११ रकम संकलन भएको जानकारी आयोजक समितिले दिएको छ। यस पावन अवसरमा कर्ता बस्नु भएका तथा कर्ता नबसी प्रेमपूर्वक दान प्रदान गर्नु भएका सम्पूर्ण श्रद्धालु भक्तजनहरूप्रति आयोजक समितिले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।



यजमान तथा कर्ता महानुभावहरूले उपस्थित सम्पूर्ण भक्तजनहरूलाई प्रसाद ग्रहण गराउनुका साथै दुर्गा मन्दिर तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्र (DTNCC) को स्थापना, पुनर्निर्माण तथा दीगो सञ्चालन अभियानका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु भएको आयोजकहरूले बताएका छन्।


कार्यक्रमको मुख्य उद्देश्य नेपाली मौलिक धार्मिक परम्पराको संरक्षण, सामुदायिक एकताको सुदृढीकरण तथा भावी पुस्तामा नेपाली संस्कृति हस्तान्तरण गर्नु रहेको आयोजक समितिले स्पष्ट पारेको छ।


यस ऐतिहासिक २२औँ दिनको कार्यक्रमलाई सफल बनाउन सहभागी सम्पूर्ण दाताहरू, कर्ता महानुभावहरू, श्रद्धालु भक्तजनहरू, अतिथिगण, संघ–संस्था प्रतिनिधिहरू, मिडिया पार्टनरहरू तथा स्वयंसेवकहरूलाई आयोजक समितिले विशेष धन्यवाद ज्ञापन गरेको छ। साथै, निरन्तर समर्पण र सेवाभावका साथ खटिनु हुने आयोजक समिति, उप–समिति, मन्दिर व्यवस्थापन समिति, समन्वयकर्ताहरू, स्वयंसेवकहरू तथा गुरुजनहरूप्रति विशेष आभार व्यक्त गरिएको छ।


आयोजक समितिका अनुसार, $५०० भन्दा बढी दान प्रदान गर्नु हुने दाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरिनेछ तथा सम्पूर्ण दाताहरूको नाम दुर्गा मन्दिर तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्रको स्थायी दातृ सूचीमा समावेश गरिनेछ।


कर्ता बस्न समय नमिल्ने भक्तजनहरूले पनि यस पवित्र अभियानमा दान गर्न सक्ने र एकै दिन धेरै जना कर्ता बस्न सकिने व्यवस्था रहेको जानकारी दिँदै, इच्छुक महानुभावहरूलाई कार्यसमिति सदस्य, महोत्सव आयोजक समिति वा गुरुजनहरूसँग सम्पर्क गर्न आयोजक समितिले अनुरोध गरेको छ।


आगामी दिनहरूमा पनि निरन्तर सहभागिता, सहयोग र समर्थन प्रदान गरी नेपाली धर्म, संस्कृति र पहिचान संरक्षणमा सबैले साझा भूमिका निर्वाह गरिदिन आयोजक समितिले अपिल गरेको छ।


सादर शुभेच्छासहित,कार्यक्रम संयोजक

अमित प्रताप शाह

जय श्रीस्वस्थानी माता !


प्रतिक्रिया