देउवा–थापा संवादको आवश्यकता औँल्याउँदै नैनसिंह महर
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता नैनसिंह महरले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका श्रद्धेय नेता शेरबहादुर देउवासँग भेट गरी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
लामो समयको उपचारपछि स्वदेश फर्किनुभएका देउवासँगको भेटपछि महरले उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको थाहा पाउँदा आफूलाई खुशी लागेको बताएका छन्।
महरले पार्टीभित्र देखिएको द्वन्द्व अन्त्य गरी एकताबद्ध र सुदृढ कांग्रेस निर्माण गर्न देउवाको भूमिका महत्वपूर्ण हुने धारणा राखेका छन्। उनले आफूहरूले पार्टीभित्र एकताका लागि सभापति गगनकुमार थापालगायत सबै नेतासँग संवाद गरिरहेको जानकारी देउवालाई गराएका छन्।
भेटका क्रममा महरले सभापति गगनकुमार थापा र पूर्वसभापति देउवाबीच प्रत्यक्ष भेटघाट तथा संवादको आवश्यकता समेत औँल्याएका थिए। पार्टीभित्रको आन्तरिक मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्न शीर्ष नेतृत्वबीचको छलफल महत्वपूर्ण हुने उनको भनाइ थियो।
जवाफमा देउवाले आफूले पार्टीभित्रको समस्या समाधानका लागि मिलाउन पहल गरिरहेको बताउँदै अदालतको निर्णय आएपछि थप प्रक्रिया अघि बढाउने धारणा राखेका छन्।
महरको भनाइअनुसार भेटमा कांग्रेसलाई एकताबद्ध बनाउँदै पार्टीको आन्तरिक विवाद समाधान गर्न नेतृत्व तहबाटै पहल आवश्यक रहेको विषयमा समेत छलफल भएको थियो।
पार्टीभित्रको पछिल्लो ध्रुवीकरणका बीच महरले देउवासँग गरेको भेटलाई कांग्रेसमा संवाद र एकताको वातावरण निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ।