दक्षिण कोरियाको Busan भ्रमणका क्रममा कोरियन ब्यूटी कोर्टकी प्रमुख Elisa Srijana Nepali ले Hwasin Cyber University का प्रमुख, प्रतिष्ठित प्राध्यापकहरू, स्थानीय व्यवसायीहरू तथा राजनीतिक व्यक्तित्वहरूसँग महत्वपूर्ण छलफल सम्पन्न गरेकी छन्।
भेटघाटका क्रममा विशेषगरी ‘स्मार्ट फार्मिङ’ र ‘डिजिटल शिक्षा’ क्षेत्रमा नेपाल–कोरिया सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित बहस भएको थियो। कोरियाको अत्याधुनिक कृषि प्रविधिलाई नेपालको भौगोलिक र माटोको अवस्थाअनुसार कसरी अनुकूलन गर्न सकिन्छ भन्ने विषयमा स्थलगत अवलोकनसहित प्राविधिक परामर्श आदानप्रदान गरिएको जनाइएको छ।
त्यसैगरी, Hwasin Cyber University सँगको सहकार्यमा नेपाली विद्यार्थी तथा किसानहरूलाई अनलाइन माध्यमबाट ‘स्मार्ट कृषि’ सम्बन्धी तालिम प्रदान गर्ने सम्भावनाबारे पनि सकारात्मक छलफल भएको छ। यसले नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।
भेटका क्रममा बुसानका उद्यमीहरू तथा बुद्ध धर्मका अनुयायीहरूसँग नेपालको पर्यटन र कृषि क्षेत्रमा लगानी विस्तार गर्ने, साथै सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
एलिसा सृजना नेपालीले कोरियाको प्रविधि र नेपालको सम्भावनालाई जोड्दै “डिजिटल नेपाल” र “स्मार्ट कृषि” को लक्ष्य हासिल गर्न यस्ता अन्तर्राष्ट्रिय सहकार्य महत्वपूर्ण हुने बताएकी छन्। उनले आगामी दिनमा यस्ता पहललाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएकी छन्।