लमजुङ – बेलायतमा स्थापित राजशान्ति फाउन्डेसनले लमजुङको दोर्दी गाउँपालिका–१ बेलघारीस्थित रत्न प्राथमिक विद्यालयका ५६ जना विद्यार्थीलाई ५६ सेट ट्र्याकसुट वितरण गरेको छ।
विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण सिर्जना गर्नुका साथै शिक्षाप्रति थप प्रेरित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा फाउन्डेसनका संस्थापक राजकुमार सुनारकी आमा कृष्णकुमारी सुनारले ट्र्याकसुट हस्तान्तरण गरेकी हुन्।
फाउन्डेसनका अनुसार उक्त सहयोगबाट विद्यालयमा अध्ययनरत गरिब, असहाय, दलित तथा विपन्न परिवारका विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। विद्यालय पोशाकको अभावले सिर्जना गर्ने कठिनाइ कम भई नियमित अध्ययनमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। विद्यालयका प्रधानाध्यापक मैतकाशी घलेले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले बालबालिकामा शिक्षाप्रति उत्साह बढाउनुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको बताइन्।
राजशान्ति फाउन्डेसनका संस्थापक राजकुमार सुनारले शिक्षा, सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा संस्था निरन्तर सक्रिय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकता भएका विद्यालय तथा विपन्न समुदायका बालबालिकालाई लक्षित कार्यक्रमलाई निरन्तरता दिइने बताए।
५६ जना विद्यार्थीलाई ५६ सेट ट्र्याकसुट वितरण गरिएको यस कार्यक्रमले स्थानीय स्तरमा परोपकार, सामाजिक सहकार्य र शिक्षाप्रतिको सामूहिक जिम्मेवारीलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ।