कञ्चनपुर — बेदकोट नगरपालिका–४ बैतोडामा नेपाली कांग्रेसका नेता एनपी साउद ले मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद, सुझाव संकलन तथा विकास प्राथमिकताबारे छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै साउदले कञ्चनपुर–२ को समग्र विकास, रोजगारी सृजना, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताए। उनले विगतका अधुरा योजनालाई पूर्णता दिने र नयाँ योजनालाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा मतदाताले शिक्षा, स्वास्थ्य, सिँचाइ र सडक पूर्वाधार सुधारको माग राखेका थिए। साउदले जनताका हरेक आवाजलाई नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने आश्वासन दिए।
कञ्चनपुर–२ मा चुनावी सरगर्मी बढिरहेका बेला साउदको सक्रिय घरदैलो र जनसम्पर्क अभियानले माहोल थप तातेको छ। समर्थकहरूले “रुखमा भोट 🌲, जय नेपाल 🇳🇵🌲” नारासहित व्यापक समर्थन जनाएका छन्।