काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी वृत्त बानेश्वरको नवनिर्मित कार्यालय भवन तथा अन्य संरचनाहरूको पूर्ण निर्माण सम्पन्न गरी औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
कार्यक्रममा आईजीपी कार्कीले नागरिक–केन्द्रित, प्रविधिमैत्री तथा सेवाग्राहीमैत्री प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन भौतिक संरचनाको विकास अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले प्रहरी कार्यालयहरूलाई आधुनिक, व्यवस्थित र सेवामुखी बनाउँदै लैजान नेपाल प्रहरीले निरन्तर प्राथमिकता दिइरहेको पनि बताउनुभयो।
नयाँ भवन सञ्चालनमा आएसँगै प्रहरी कर्मचारीहरूलाई दैनिक कार्यसम्पादनमा सहजता हुने तथा सेवाग्राहीलाई छिटो, व्यवस्थित र प्रभावकारी सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
निर्माण कार्यमा नागरिक, स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाहरूको सहयोग र सहकार्य उल्लेखनीय रहेको जनाइएको छ। यस्ता पूर्वाधार विकासले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा समेत गरिएको छ।
नयाँ संरचनासहित बानेश्वर प्रहरी वृत्तले अब थप सुदृढ, आधुनिक र सेवामुखी ढंगले सेवा प्रवाह गर्ने अपेक्षा गरिएको छ।