कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउद को पक्षमा जनमत बलियो बन्दै गएको दाबी गरिएको छ। राष्ट्रिय राजनीतिमा लामो अनुभव र कूटनीतिक पहिचान बनाएका साउद यसपटक आफ्नै गृहजिल्लामा मजबुत दाबेदारीसहित मैदानमा छन्।
परराष्ट्र मन्त्रीको कार्यकालमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, छिमेकी मुलुकसँग संवाद विस्तार र प्रवासी नेपालीको हितमा पहल गरेको भन्दै समर्थकहरूले उनको नेतृत्व क्षमता उल्लेख गर्दै आएका छन्। स्थानीय विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राख्दै अघि सारेका एजेन्डाले मतदातामा सकारात्मक सन्देश पुगेको दाबी गरिएको छ।
घरदैलो अभियान र चुनावी सभाहरूमा देखिएको सहभागिताले कञ्चनपुर–२ मा कांग्रेसको स्थिति मजबुत देखिएको बताइन्छ। अनुभवी, संयमित र राष्ट्रिय दृष्टिकोण भएका नेताका रूपमा साउदको छवि स्थापित रहेको स्थानीय कार्यकर्ताहरूको भनाइ छ।
राजनीतिक वृत्तमा चर्चा छ—यसपटक कञ्चनपुर–२ मा प्रतिस्पर्धा रोचक भए पनि एनपी साउदको अनुभव, संगठनात्मक पकड र जनसम्पर्कका कारण उनी बलिया दावेदारका रूपमा उभिएका छन्। समर्थकहरू विश्वस्त छन् कि जनमत उनको पक्षमा स्पष्ट रूपमा झुकेको छ र परिणामले त्यसलाई पुष्टि गर्नेछ।