सुनसरी घटनालाई राजनीतिकरण नगर्न रास्वपाको आग्रह, निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग

theoutsidenepal.com

सुनसरी घटनालाई राजनीतिकरण नगर्न रास्वपाको आग्रह, निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लाहरूमा हालै भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेका छन्।


सभापति लामिछानेले सार्वजनिक गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

रास्वपाले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै नेपालको बहुलवादी संस्कृति, सामाजिक सहिष्णुता, आपसी एकता र सद्भाव जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ। पार्टीले अफवाह, उत्तेजना तथा साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहन आम नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सबै सरोकारवालासँग आग्रह गरेको छ।

विज्ञप्तिमा वर्तमान संवेदनशील परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न तथा अवस्था सामान्य बनाउन रास्वपा नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा रहेको उल्लेख गरिएको छ।

रास्वपाले घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित न्याय, क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

पार्टीले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा सदैव प्रतिबद्ध रहेको दोहोर्याउँदै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका निर्वाह गरिरहेको जनाएको छ।

साथै, रास्वपाले यस संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्षसँग आग्रह गर्दै आफ्ना स्थानीय समिति तथा सम्पूर्ण नेता–कार्यकर्तालाई शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको छ।


प्रतिक्रिया