पवन प्रकृति स्कूलमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न
काठमाडौं । पवन प्रकृति स्कूलमा विद्यार्थी नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयस्तरीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले मतदान गरेका थिए। कुल १,१०३ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए।
निर्वाचनको व्यवस्था अनुसार स्कूल क्याप्टेन पदका लागि कक्षा १० का विद्यार्थीहरू मात्र उम्मेदवार बन्न पाउने प्रावधान रहेको थियो। यस्तै, स्कूल भाइस क्याप्टेन पदका लागि कक्षा ९ का विद्यार्थीहरू मात्र उम्मेदवार बनेका थिए। हाउस क्याप्टेन तथा हाउस भाइस क्याप्टेन पदका लागि कक्षा ८ र ९ का विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए।
निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ। विद्यार्थीहरूले लोकतान्त्रिक प्रक्रियामार्फत आफ्ना प्रतिनिधि छनोट गर्दै नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा सहभागितामूलक अभ्यासको अनुभव हासिल गरेका छन्।
विद्यालयका प्रिन्सिपल उत्तर राईले विद्यार्थीहरूलाई लोकतन्त्रको महत्व बुझाउन र नेतृत्व क्षमताको विकास गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यालय केवल शैक्षिक ज्ञान दिने थलो मात्र होइन, जिम्मेवार नागरिक तयार गर्ने संस्था पनि हो। निर्वाचनमार्फत विद्यार्थीहरूले नेतृत्व, अनुशासन र जिम्मेवारीको व्यवहारिक अभ्यास गर्ने अवसर पाएका छन्।”
त्यसैगरी, भाइस प्रिन्सिपल भुवन घिमिरेले निर्वाचनमा सहभागी सबै विद्यार्थी, शिक्षक तथा व्यवस्थापन टोलीलाई धन्यवाद दिँदै यस प्रकारका गतिविधिले विद्यार्थीहरूमा आत्मविश्वास, सहकार्य र लोकतान्त्रिक संस्कारको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “आजका विद्यार्थी नै भोलिका जिम्मेवार नागरिक हुन्। विद्यालयस्तरमै लोकतान्त्रिक अभ्यास गराउनु हाम्रो महत्वपूर्ण दायित्व हो।”
विद्यालय प्रशासनका अनुसार निर्वाचनको अन्तिम मतपरिणाम औपचारिक रूपमा सार्वजनिक गरिनेछ।