“नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” सम्पन्न : भावी कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव प्राप्त — प्रहरी महानिरीक्षक कार्की

theoutsidenepal.com

काठमाडौँ — प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित दुई दिवसीय “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” सोमबार विशेष समारोहबीच सम्पन्न भएको छ। “प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा” विषयमा केन्द्रित सम्मेलनले नेपाल प्रहरीको भावी नीति, रणनीति र कार्यदिशा निर्धारणमा महत्वपूर्ण आधार तयार गरेको जनाइएको छ।


समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूको व्यावसायिक तथा व्यवहारिक अनुभव, सुझाव र दृष्टिकोणले संगठनको आगामी कार्ययोजना निर्माणमा महत्वपूर्ण पृष्ठपोषण मिलेको बताउनुभयो। प्रविधिमार्फत सिर्जित अपराध तथा अपराध अनुसन्धानमा देखिएका नवीन चुनौती समाधान गर्न नेपाल प्रहरी निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उहाँले नागरिकको रचनात्मक सहयोगको आवश्यकता पनि औंल्याउनुभयो।


उहाँले सम्मेलनमा उठाइएका विषयवस्तु तथा प्राप्त सुझावहरूले नेपाल प्रहरीलाई अझ व्यावसायिक, उत्तरदायी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै नीति निर्माण, क्षमता अभिवृद्धि, प्रशिक्षण, वृत्ति विकास र सेवा प्रवाह सुधारका क्षेत्रमा सम्मेलन मार्गदर्शक बन्ने बताउनुभयो।


सम्मेलनका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले कार्यक्रमको महत्वबारे मन्तव्य व्यक्त गर्नुभएको थियो भने सम्मेलनका गतिविधि समेटिएको भिडियो सामग्री पनि प्रस्तुत गरिएको थियो।


कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकारीहरू, नेपाल एसबीआई बैंकका पदाधिकारीहरू, सञ्चारकर्मी, विभिन्न क्षेत्रका विज्ञ, विद्यार्थी तथा आमन्त्रित महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सम्मेलनमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, पूर्व मुख्यसचिव लिलामणि पौडेल, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, गृहमन्त्रालयका सहसचिव काली प्रसाद पराजुली, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली, मानवअधिकारकर्मी कृष्ण पहाडी, सुरक्षाविद् चिरनजंग थापा, वरिष्ठ कलाकार राजेश हमाल लगायत विभिन्न क्षेत्रका विषय विज्ञहरूले सहभागिता जनाएका थिए।


सम्मेलनमा नेपाल प्रहरीको संचालन तथा समन्वय, सुरक्षा चुनौती र रणनीति, अपराधका नवीन प्रवृत्ति, विरोध प्रदर्शन व्यवस्थापन, नागरिक–प्रहरी सम्बन्ध, मानवस्रोत व्यवस्थापन, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता, विपद व्यवस्थापन, सडक सुरक्षा प्रवर्द्धन लगायत विविध विषयमा व्यापक छलफल तथा अन्तरक्रिया गरिएको थियो।


नेपाल प्रहरीको कार्य समीक्षा, दीर्घकालीन रणनीतिक लक्ष्य निर्धारण, संगठनात्मक सुधार, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि र नागरिक विश्वास बढाउने उद्देश्यका साथ आयोजित सम्मेलनले आगामी दिनमा संगठनलाई थप प्रभावकारी र उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया