नेपाल–मलेसिया श्रम सम्बन्धमा प्रधानमन्त्री शाहको कडा पहल

theoutsidenepal.com

नेपाल–मलेसिया श्रम सम्बन्धमा प्रधानमन्त्री शाहको कडा पहल

सिन्डिकेट र बिचौलिया प्रथा अन्त्य गर्न संयुक्त पहलमा जोड

द टन न्युज । काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग आज बिहान टेलिफोनमार्फत विशेष छलफल गर्नुभएको छ। छलफलका क्रममा नेपाल–मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयलाई प्रधानमन्त्री शाहले प्रमुखताका साथ उठाउनुभएको हो।

प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट तथा बिचौलिया प्रथा नेपाल सरकारका लागि स्वीकार्य नभएको स्पष्ट पार्नुभएको छ। यस्ता अव्यावहारिक र अन्यायपूर्ण प्रवृत्तिका कारण नेपाली श्रमिकले अनावश्यक आर्थिक तथा अन्य भार व्यहोर्नुपरेको भन्दै उहाँले समस्याको दीर्घकालीन समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताउनुभएको छ।

प्रधानमन्त्री शाहको धारणा सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफू पनि सिन्डिकेट र बिचौलिया प्रथाको विपक्षमा रहेको स्पष्ट पार्नुभएको बताइएको छ।

इब्राहिमले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई तत्काल नेपालका श्रममन्त्रीसँग समन्वय गरी आवश्यक काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

दुई प्रधानमन्त्रीबीचको यो संवादलाई नेपाली श्रमिकको हित, वैदेशिक रोजगारीमा पारदर्शिता तथा नेपाल–मलेसिया श्रम सम्बन्धलाई थप व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ


प्रतिक्रिया