काठमाडौं — पत्रकार समा थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को राजनीतिलाई लिएर प्रमुख दलहरूमा देखिएको चासोप्रति व्यंग्यात्मक टिप्पणी गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले बालेनको राजनीतिक भविष्यलाई लिएर सबैभन्दा धेरै चिन्ता नेकपा (एमाले) ले लिएको देखिनु रोचक भएको उल्लेख गरेकी छन्।
थापाले आफ्नो स्टाटसमा लेखेकी छन्, “रास्वपाले बालेनको राजनीति सक्काउन लाग्यो भनेर बालेनलाई भन्दा एमाले किन डरायो ? किन चिन्ता लियो ? कति माया गरेको के?” भन्दै प्रमुख प्रतिपक्षी दलको चासोमाथि प्रश्न उठाएकी छन्।
उनले कांग्रेस नेता गगनकुमार थापाले पनि बालेनप्रति उत्तिकै चिन्ता व्यक्त गरिरहेको उल्लेख गर्दै यस किसिमको चिन्ता यदि देशका वास्तविक समस्याप्रति केन्द्रित भएको भए अझ सकारात्मक हुने धारणा राखेकी छन्। “यति चिन्ता देशका लागि लिएको भए हुने नि बरु,” उनले टिप्पणी गरेकी छन्।
समा थापाले वर्तमान राजनीतिक परिवेशलाई ‘कलियुग’ सँग तुलना गर्दै व्यंग्यात्मक रूपमा भनेकी छन्, “कलियुगमा आफ्ना लागि भन्दा अरुका लागि सोच्ने पार्टी पाउनु नेपालीको अहोभाग्य हो,” जसले राजनीतिक दलहरूको नियतमाथि प्रश्न उठाएको देखिन्छ।
उनको यो टिप्पणी पछिल्लो समय बालेन साहको बढ्दो राजनीतिक प्रभाव, राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने सम्भावना र त्यसले पार्ने असरबारे दलहरूभित्र भइरहेको आन्तरिक बहससँग जोडेर हेरिएको छ।
सामाजिक सञ्जालमा समा थापाको यो अभिव्यक्तिलाई कतिपयले तीखो राजनीतिक व्यंग्य भनेका छन् भने कतिपयले दलहरूबीचको असहजता उजागर गर्ने टिप्पणीका रूपमा लिएका छन्।