७ वर्षमै समुन्द्र पार गर्दै इशांक सिंहको विश्व कीर्तिमान

theoutsidenepal.com

भारत । केवल ७ वर्षको कलिलो उमेरमै भारतीय बाल पौडीबाज इशांक सिंह ले समुन्द्र पौडिएर विश्व कीर्तिमान कायम गरेका छन्। उनले श्रीलंकाको तलैमन्नारदेखि भारतको धनुषकोडीसम्म फैलिएको पाक स्ट्रेट पार गर्दै ऐतिहासिक सफलता हासिल गरेका हुन्।


अप्रिल ३०, २०२६ को बिहान ४:१५ बजे यात्रा सुरु गरेका इशांकले करिब २९ किलोमिटर दूरी ९ घण्टा ५० मिनेटमै पूरा गरेका थिए। यससँगै उनी उक्त दूरी सबैभन्दा कम उमेरमा र छिटो पार गर्ने पौडीबाज बनेका छन्। यसअघि यो कीर्तिमान १० वर्षीय जय जशवन्त को नाममा रहेको थियो, जसले १० घण्टा ३० मिनेटमा सो दूरी पार गरेका थिए।


खुला समुन्द्रमा पौडिनु अत्यन्त चुनौतीपूर्ण मानिन्छ। नुनिलो पानी, तीव्र लहर, अनिश्चित धार र शारीरिक थकानका बाबजुद इशांकले असाधारण धैर्यता र साहस देखाएका थिए। राँचीस्थित जवाहर विद्या मन्दिर मा कक्षा ३ मा अध्ययनरत उनले सानै उमेरमा अनुशासन र प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेका छन्।


इशांकको यो सफलता केवल खेलकुद उपलब्धिमा सीमित नभई नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। उनको कीर्तिमानले “साहस र दृढ इच्छाशक्ति भए उमेर बाधा हुँदैन” भन्ने सन्देश विश्वसामु प्रस्तुत गरेको छ।


हाल विश्व खेलकुद समुदायले उनलाई ‘लिटिल वन्डर’ का रूपमा लिएको छ भने उनको उज्ज्वल भविष्यको कामना गर्दै विभिन्न क्षेत्रबाट बधाईको ओइरो लागेको छ।


प्रतिक्रिया