सादा पोशाकका प्रहरी प्रयोग आरोपमा बालेन्द्र साहसँग आयोगको दोस्रो स्पष्टीकरण

theoutsidenepal.com

निर्वाचन आचारसंहिता उल्लङ्घन आरोपमा बालेन साहसँग आयोगको दोस्रो स्पष्टीकरण, तीन दिनभित्र जवाफ माग

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)सँग निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा दोस्रो पटक स्पष्टीकरण सोधेको छ। आयोगले निर्वाचनको निष्पक्षता र समान प्रतिस्पर्धा सुनिश्चित गर्ने क्रममा आचारसंहिता उल्लङ्घन गरेको आशंकामा साहसहित थप नौ जनासँग स्पष्टीकरण माग गरेको हो।

निर्वाचन आयोगका अनुसार शनिबारसम्म विभिन्न घटनामा २१ जनासँग स्पष्टीकरण सोधिसकिएको थियो। आइतबार र सोमबार बालेन्द्र साहसहित थप नौ जनासँग लिखित जवाफ माग गरिएको आयोगले जनाएको छ। पछिल्लो समय निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले कडाइका साथ निगरानी बढाएको देखिन्छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार झापा–५ मा भएको चुनावी प्रचारप्रसारका क्रममा बालेन साहकी पत्नी सविना काफ्लेले सादा पोशाकका प्रहरी प्रयोग गरेको भन्ने सूचना आयोगमा प्राप्त भएपछि यसबारे छानबिन अघि बढाइएको हो। प्राप्त सूचनाको आधारमा प्रारम्भिक अध्ययन गर्दा आचारसंहिता उल्लङ्घन भएको हुनसक्ने देखिएपछि साहसँग स्पष्टीकरण सोधिएको प्रवक्ता जिसीले बताए।

उनका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम बालेन्द्र साहसँग तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ। तोकिएको समयसीमाभित्र जवाफ प्राप्त नभए वा चित्तबुझ्दो उत्तर नआएमा आयोगले थप कानुनी निर्णय लिन सक्ने जनाएको छ।

निर्वाचन आयोगले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता उल्लङ्घनका कुनै पनि घटनालाई गम्भीर रूपमा लिइने स्पष्ट पारेको छ। आयोगका अनुसार उम्मेदवार, समर्थक तथा सरोकारवाला सबैले आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ।

आयोगले प्राप्त हुने स्पष्टीकरणको आधारमा आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा पनि आचारसंहिता उल्लङ्घनका गतिविधिमाथि कडाइका साथ निगरानी जारी रहने जनाएको छ।

प्रतिक्रिया