साइपाल–रानीसैन क्षेत्रको विवाद चर्कियो, धनगढी उपमहानगरपालिकाको टोली पनि लखेटिए
साइपाल र रानीसैन क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गएको धनगढी उपमहानगरपालिकाको टोलीलाई स्थानीयले लाम्पाटाबाट फर्काइदिएका छन्। ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत नगर प्रमुख गोपाल हमाल को नेतृत्वमा टोली त्यसतर्फ गएको थियो। तर स्थानीय अवरोधपछि टोली बीचबाटै फर्किन बाध्य भएको जनाइएको छ।
स्थानीयले चुचीखोलामा रहेको काठेपुलसमेत आंशिक रूपमा भत्काएको बताइएको छ। नगर प्रमुख हमालले स्थानीयको विरोधका कारण आफूहरू फर्किएको बताएका छन्।
विवादको मुख्य कारण
लाम्पाटामा प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर विवाद तीव्र बनेको हो। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ।
प्रहरी चौकी निर्माणका लागि गुम्बा गाउँका नरबहादुर गुरुङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो। तर खार्पुनाथ गाउँपालिका का स्थानीयले उक्त क्षेत्र हुम्लाको भूमि भएको दाबी गर्दै निर्माण कार्यमा अवरोध गरेका छन्।
स्थानीयका अनुसार निर्माण सामग्री फालिएको छ भने जग्गा उपलब्ध गराउने वडासदस्य पेमा गुरुङको परिवारमाथि समेत आक्रमण गरिएको आरोप छ। लक्षी गुरुङले आफ्नो घर तीन दिनदेखि कब्जामा राखिएको र परिवारलाई धम्की दिइएको बताएकी छन्।
गुम्बा गाउँका स्थानीय छिरिङ फुटी थापाका अनुसार निर्माण कार्यमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएर केही दिनसम्म रोकिएको थियो। स्थानीयले आफूहरूको पुर्खौंदेखिको बसोबास रहेको तथा जग्गाको लालपुर्जासमेत रहेको दाबी गरेका छन्।
पुरानै सीमाविवाद फेरि सतहमा
साइपाल को पूर्वी आधार शिविर रानीसैन तथा लाम्पाटा क्षेत्रको सीमाविवादलाई लिएर बाजुरा र हुम्ला बीच लामो समयदेखि विवाद रहँदै आएको छ। पछिल्लो प्रहरी चौकी निर्माणको विषयले विवादलाई थप चर्काएको स्थानीयले बताएका छन्।