९ करोड ऋण प्रकरण: तिहाड जेल जानुअघि राजपाल यादवको पीडा, सोनू सूदले दिए साथ

theoutsidenepal.com

काठमाडौं । ९ करोड भारतीय रुपैयाँ बराबरको ऋण तथा चेक बाउन्स प्रकरणमा तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि बलिउड अभिनेता राजपाल यादवले आफ्नो गम्भीर आर्थिक सङ्कट र एक्लोपनको पीडा सार्वजनिक गरेका छन्। उनले फिल्म क्षेत्रमा अप्ठ्यारो पर्दा साथ दिने कोही नहुने भन्दै निराशा व्यक्त गरेका थिए।


यसैबीच अभिनेता सोनू सूदले राजपाललाई साथ दिँदै आफ्नो नयाँ फिल्ममा अनुबन्ध गर्ने घोषणा गरेका छन्। उनले राजपाललाई ‘साइनिङ अमाउन्ट’ स्वरूप आर्थिक सहयोग उपलब्ध गराउने बताएका छन्। सामाजिक सञ्जालमार्फत सोनूले राजपाल यादव एक प्रतिभाशाली कलाकार भएको उल्लेख गर्दै समयले कहिलेकाहीँ कलाकारमाथि अन्याय गर्ने बताए। उनले यो सहयोग दान नभई एक कलाकारको सम्मान र गरिमाको रूपमा रहेको स्पष्ट पारे।


सोनू सूदले फिल्म उद्योग एउटा परिवार जस्तै भएको भन्दै संकटमा परेका सहकर्मीलाई साथ दिनु निर्माता तथा निर्देशकहरूको दायित्व भएको समेत बताएका छन्। त्यस्तै जेम्स टुन म्युजिकका मालिक राव इन्द्रजीत सिंह यादवले पनि राजपाललाई १ करोड ११ लाख भारतीय रुपैयाँ आर्थिक सहयोग घोषणा गर्दै देशवासीलाई सहयोगका लागि अपिल गरेका छन्।


उक्त विवाद सन् २०१० मा राजपालले निर्देशन गरेको फिल्म ‘अता पता लापता’ निर्माणका लागि लिएको ५ करोड भारतीय रुपैयाँ ऋणबाट सुरु भएको हो। फिल्म असफल भएपछि उनले दिएको चेक बाउन्स हुँदा ब्याजसहित रकम बढेर ९ करोड पुगेको बताइएको छ।


दिल्लीको अदालतले सन् २०१८ मा उनलाई ६ महिनाको जेल सजाय सुनाएको थियो। केही समय राहत पाए पनि अन्ततः ऋण तिर्न नसकेपछि उनले तिहाड जेलमा आत्मसमर्पण गरेका हुन्।


प्रतिक्रिया