प्रहरी संगठनलाई दलीय प्रभावबाट मुक्त राख्ने आईजीपी केसीको प्रतिबद्धता
नागरिकको सुरक्षा र सम्मान सर्वोपरि, प्रहरीको व्यावसायिक स्वायत्ततामा जोड
द टन न्युज । विशेष रिपोर्ट ।
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरी संगठनलाई राजनीतिक तथा दलीय प्रभावबाट मुक्त राख्दै व्यावसायिक, निष्पक्ष र नागरिकमैत्री प्रहरी संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै आईजीपी केसीले नागरिकको सुरक्षा, सम्मान र अधिकारलाई आफूले सदैव सर्वोपरि राख्ने स्पष्ट पारे।
उनले संविधान र प्रचलित कानुनप्रति अविचलित रहँदै प्रहरी संगठनलाई जिम्मेवार, अनुशासित र जनउत्तरदायी बनाउने प्रणसमेत व्यक्त गरे।
प्रहरी संगठन प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तता अपरिहार्य रहेको उल्लेख गर्दै उनले यसका लागि सरकारसँग आवश्यक सहयोगको आग्रह गरे।
विशेषगरी प्रहरी संगठनलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूको सकारात्मक सहयोग र प्रतिबद्धता आवश्यक रहेको उनको धारणा थियो।
प्रहरी नेतृत्वको वास्तविक परीक्षा
नेपाल प्रहरीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नु, संगठनभित्रको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु र नागरिकमा प्रहरीप्रतिको विश्वास स्थापित गर्नु नयाँ प्रहरी नेतृत्वका महत्वपूर्ण चुनौती हुन्।
आईजीपी केसीको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन सके प्रहरी संगठनको संस्थागत स्वायत्तता, निष्पक्षता र जनविश्वास सुदृढ हुने अपेक्षा गर्न सकिन्छ।
प्रहरी कुनै दल वा शक्तिको होइन, संविधान, कानुन र आम नागरिकको सुरक्षाका लागि समर्पित संस्था हो भन्ने मान्यतालाई व्यवहारमा स्थापित गर्नु नै नयाँ नेतृत्वको सफलता मापन गर्ने प्रमुख आधार हुनेछ।
द टन न्युज — Accuracy, Balance and Credibility.