कञ्चनपुर–२ बाट दीपक बोहरा सर्वसम्मत उम्मेदवार सिफारिस

theoutsidenepal.com

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर क्षेत्र नम्बर–२ बाट सचिवालय सदस्य तथा पार्टीका संस्थापक नेता दीपक बोहरालाई उम्मेदवारका रूपमा अघि सारेको छ। रास्वपा कञ्चनपुर–२ क्षेत्रीय कमिटीले बोहराको नाम एकल तथा सर्वसम्मत रूपमा सिफारिस गरेको हो।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बोहराले पार्टी र स्थानीय नेतृत्वबाट आफूले पाएको विश्वासलाई जिम्मेवारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। क्षेत्रीय संयोजक गणेश खड्काका अनुसार शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगर समितिहरू, ती नगरका सबै वडाका प्रतिनिधि तथा अन्य आकांक्षी उम्मेदवारहरूको संयुक्त बैठकले बोहरालाई सर्वसम्मत रूपमा अघि सारेको हो।

बोहराको उम्मेदवारीका लागि झंकर जोशी र घनश्याम विष्ट प्रस्तावक तथा समर्थक रहेका छन्। जोशी यसअघि कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरिसकेका अनुभवी नेता हुन् भने विष्ट हाल उम्मेदवारीका आकांक्षी थिए। आकांक्षीहरूबीच देखिएको यो एकता र सहमतिले रास्वपाको संगठनात्मक शक्ति झन् मजबुत बनेको विश्लेषण गरिएको छ।

सिफारिसपछि फेसबुकमा प्रतिक्रिया जनाउँदै बोहराले लेखेका छन्,“कञ्चनपुर क्षेत्र नम्बर–२ बाट रास्वपा उम्मेदवारका रूपमा मलाई सर्वसम्मत सिफारिस गर्नुभएकोमा आभारी छु। पार्टी पङ्क्तिको यो विश्वास धरमराउन दिने छैन। अन्य आकांक्षी घण्टी मित्रहरूको त्यागको उच्च सम्मान गर्ने छु र उहाँहरूको न्यायको पक्षमा सधैँ उभिनेछु।”

उल्लेखनीय छ, रास्वपा सभापति रवि लामिछानेमाथि भएको प्रतिशोधको विरोधमा कञ्चनपुरमा सञ्चालन गरिएको हस्ताक्षर अभियान पनि बोहराकै नेतृत्वमा अघि बढाइएको थियो, जसले पार्टीभित्र उनको प्रभाव र नेतृत्व क्षमतालाई अझ सुदृढ बनाएको छ।

कञ्चनपुर–२ मा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका एनपी साउद २८ हजार १ सय मतसहित विजयी भएका थिए भने एमालेका नरबहादुर धामी २१ हजार ६४५ मतसहित दोस्रो स्थानमा रहेका थिए। यसपटक रास्वपाले बोहरालाई उम्मेदवार बनाउँदै कञ्चनपुर–२ मा नयाँ राजनीतिक तरंग ल्याउने तयारी गरेको संकेत दिएको छ।

रास्वपाको सर्वसम्मत निर्णय र स्थानीय तहबाट प्राप्त व्यापक समर्थनले कञ्चनपुर–२ को चुनावी मैदान थप रोचक र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया