मौसमलाई ध्यान दिँदै समयमै गहुँ काट्न आग्रह
चैत्र १० गते , मंगलबार ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका–४ । कृष्णपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष धर्म सिंहले कृषकहरूलाई मौसमको अवस्थालाई ध्यानमा राख्दै गहुँ बाली समयमै काट्न आग्रह गर्नुभएको छ।
हाल मौसममा देखिएको अस्थिरता र सम्भावित वर्षाका कारण पाकिसकेको गहुँ बालीमा क्षति पुग्न सक्ने भएकाले सतर्क रहन उहाँले अनुरोध गर्नुभएको हो। वडा अध्यक्ष सिंहका अनुसार ढिला गरेर काट्दा उत्पादनमा कमी आउनुका साथै गुणस्तरमा समेत असर पर्न सक्ने भएकाले किसानहरूले समयमै बाली भित्र्याउनु आवश्यक रहेको छ।
वडा नं. ४ कार्यालयले जारी गरेको विशेष सूचनामा कृषकहरूलाई मौसम पूर्वानुमानको नियमित जानकारी लिन, आवश्यक उपकरणको व्यवस्था गर्न तथा सामूहिक रूपमा कटानी कार्यलाई तीव्रता दिन समेत सुझाव दिइएको छ।
स्थानीय सरकार किसानहरूको हितमा सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै विपद् जोखिम न्यूनीकरणका लागि समयमै तयारी गर्न पनि आग्रह गरिएको छ।
उक्त सूचना “टन मिडिया ग्रुप” मार्फत सार्वजनिक गरिएको हो।