काठमाडौं । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीको प्रधान कार्यालय, नक्सालमा आकस्मिक निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले प्रहरीको कामकाज, प्रशासनिक व्यवस्था तथा सुरक्षा तयारीबारे जानकारी लिएका छन्।
गृहमन्त्री गुरुङले मुलुकको शान्ति–सुरक्षा सुदृढ बनाउन नेपाल प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै संगठनलाई अझ प्रभावकारी र जनमुखी बनाउन निर्देशन दिएका छन्। उनले सेवाग्राहीमैत्री सेवा, छिटो–छरितो अनुसन्धान र पारदर्शी कार्यसम्पादनमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
निरीक्षणका क्रममा उनले उच्च प्रहरी अधिकारीहरूसँग छलफल गर्दै समसामयिक सुरक्षा चुनौती, अपराध नियन्त्रण तथा प्रविधिको प्रयोगबारे पनि जानकारी लिएका थिए। साथै प्रहरीलाई स्रोतसाधनको उचित व्यवस्थापन र मनोबल उच्च राख्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
नेपाल प्रहरीले पनि मन्त्रालयसँगको समन्वयमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न थप सक्रिय रूपमा काम गरिरहेको जानकारी गराएको छ।
यस निरीक्षणलाई सुरक्षा प्रशासन सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।