सुदूरपश्चिम विकासका लागि सांसद केपी खनालको १५ बुँदे रोडम्याप, सेती लोकमार्गदेखि दुर्लभ नौ मुठ्ठे गाई संरक्षणसम्म प्रस्ताव

theoutsidenepal.com

सुदूरपश्चिम प्रदेशको समग्र विकासलाई लक्षित गर्दै प्रतिनिधि सभा सदस्य केपी खनाल ले १५ बुँदे महत्वाकांक्षी रोडम्याप प्रस्तुत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह सँग सिंहदरबार मा भएको छलफलमा उहाँले आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका रणनीतिक योजनाहरू अघि सार्नुभएको हो।


छलफलमा सांसद खनालले टीकापुर–दुर्गौली हुँदै बझाङको ताक्लाकोटसम्म जोड्ने सेती लोकमार्ग निर्माणलाई तीव्रता दिन विशेष जोड दिनुभयो। कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ र हुम्ला हुँदै चीनको नाका जोड्ने यो सडक सुदूरपश्चिमको “भाग्यरेखा” हुने उहाँको भनाइ थियो। साथै कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोर र चिसापानी–जङ्गलघाट–मंगलसेन सडक खण्डलाई समेत द्रुत गतिमा अघि बढाउन प्रस्ताव गरिएको छ।


स्वास्थ्य क्षेत्रतर्फ, गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न आवश्यक प्रक्रिया अघि बढाउन माग गरिएको छ। थारु समुदायमा देखिएको वंशाणुगत रोग सिकल सेल एनिमिया न्यूनीकरणका लागि विशेष प्याकेज ल्याउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।


औद्योगिक तथा कृषि विकासतर्फ, विगत दुई दशकदेखि बन्द रहेको वासुलिङ्ग सुगर मिल पुनः सञ्चालन गरी करिब २० हजार रोजगारी सिर्जना गर्ने प्रस्ताव अघि सारिएको छ। साथै गहुँको उचित मूल्य निर्धारण र किसानलाई समयमै मल तथा बिउ उपलब्ध गराउने सुनिश्चितताको माग गरिएको छ।


पर्यटन र जैविक विविधता संरक्षणतर्फ, अछाममा मात्र पाइने विश्वकै दुर्लभ “नौ मुठ्ठे गाई” को संरक्षणका लागि व्यवस्थित गौशाला निर्माण र त्यसका उत्पादनहरूको बजारीकरण गर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ। त्यस्तै नेपाल–भारत (उत्तराखण्ड) जोड्ने मानसखण्ड सर्किट तथा इको–टुरिज्म विकासमार्फत क्षेत्रीय पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ।


सञ्चार र पूर्वाधारतर्फ, सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा देखिएको मोबाइल तथा इन्टरनेट नेटवर्क समस्या स्थायी रूपमा समाधान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै खक्रौला नाकामा साना भन्सार र क्वारेन्टाइन स्थापना, कर्णाली चिसापानीदेखि महेन्द्रनगरसम्म छाडा चौपाया व्यवस्थापन, र सातवटै पहाडी जिल्लालाई हवाई सेवामार्फत जोड्ने विकल्पहरूको खोजी गर्ने प्रस्तावहरू पनि समावेश छन्।


छलफलमा प्रधानमन्त्री शाहले सुदूरपश्चिमका विकाससम्बन्धी यी मागप्रति सकारात्मक धारणा व्यक्त गर्दै आगामी बजेटमा प्राथमिकताका साथ समेट्ने र कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा सहभागी अन्य सांसदहरूले समेत आ-आफ्ना क्षेत्रका समस्या र सम्भावनाबारे धारणा राखेका थिए।


प्रतिक्रिया