प्रवीण गुरुङको विशेष अपिल: “महाधिवेशन स्थगन, नेपालीहरूको सुरक्षा पहिलो प्राथमिकता”

theoutsidenepal.com

विश्वभर रहनुभएका गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा प्रवीण गुरुङ, गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव तथा उपाध्यक्ष पदका प्रत्यासीले विशेष अपिल गरेका छन्। उनले आगामी मार्च १४–१६ मा काठमाडौँमा तय भएको १२औँ महाधिवेशनको पृष्ठभूमि र वर्तमान चुनौतीहरूको चर्चा गर्दै संकटमा परेका नेपालीहरूको सुरक्षा र संस्थाको पारदर्शिता सुनिश्चित गर्न जोड दिनुभयो।


प्रवीण गुरुङले विशेषगरी मध्यपूर्व क्षेत्रमा रहेका नेपाली श्रमिकहरूको अवस्था गम्भीर रहेको उल्लेख गर्दै, हालै गोरखाका युवा श्रमिक दिवस श्रेष्ठको निधनले सबैलाई मर्माहत बनाएको जनाउनुभयो। “हाम्रो पहिलो प्राथमिकता संकटमा परेका नेपालीहरूको सुरक्षा, सहजीकरण र मनोबल अभिवृद्धि हुनुपर्छ,” उहाँले आफ्नो अपिलमा उल्लेख गर्नुभयो।


उहाँले निर्वाचन समितिलाई विनम्र अनुरोध गर्दै भनिन—हालको असहज अन्तर्राष्ट्रिय परिस्थितिमा सम्पूर्ण निर्वाचन कार्यतालिका स्थगन गरियोस् र परिस्थिति सामान्य भएपछि सुरक्षित, सम्मानजनक र सर्वसम्मत महाधिवेशनको व्यवस्था गरियोस्।


साथै, सदस्यता प्रमाणीकरण, शुल्क नबुझेका एनसीसी र सदस्यहरूको स्पष्ट विवरण सार्वजनिक गर्ने, अवैधानिक नामहरू सूचीबाट हटाउने, तथा विधानमा उल्लेखित समयसीमा पूर्णरूपमा पालना गर्ने विषयमा पारदर्शिता सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।


प्रवीण गुरुङले २०२१ को महाधिवेशनमा प्रतिनिधि विवादका कारण उत्पन्न समस्याबाट सिकाइ लिनुपर्ने र त्यस्तो गल्ती दोहोरिन नदिनुपर्ने उल्लेख गर्दै, व्यक्तिगत रूपमा विवादित प्रक्रियामा सहभागी नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। “मेरो लागि पदभन्दा संस्था ठूलो छ, र संस्थाभन्दा ठूलो यसको विश्वसनीयता र एकता हो,” उहाँले भन्नुभयो।


अन्ततः, गुरुङले सम्पूर्ण नेपाली समुदायमा धैर्य, संयमता र एकताको अपिल गर्दै भन्नुभयो—“हामी एकजुट भयौँ भने कुनै पनि चुनौती ठूलो हुँदैन।”


विशेष अपिल

विश्वभर रहनुभएका सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार।

म, प्रवीण गुरुङ, गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको सन्दर्भमा केही मनका कुरा यहाँहरूसामु राख्न चाहन्छु। संस्थाप्रतिको प्रतिबद्धता, जिम्मेवारी र आत्मीयताकै भावनाले यो अपिल लेख्दैछु।

आगामी मार्च १४–१६ मा काठमाडौँमा तय गरिएको महाधिवेशनलाई लिएर हामी सबैमा उत्साह छ। तर वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले हामीलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ। विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका कारण त्यहाँ कार्यरत लाखौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रभावित हुनुभएको अवस्था छ। हालै गोरखाका युवा श्रमिक दिवस श्रेष्ठको दुःखद निधनले हामी सबैलाई मर्माहत बनाएको छ। यस्तो संवेदनशील घडीमा मेरो स्पष्ट धारणा छ—हाम्रो पहिलो प्राथमिकता संकटमा परेका नेपालीहरूको सुरक्षा, सहजीकरण र मनोबल अभिवृद्धि हुनुपर्छ।

एनआरएनएको मर्म नै संकटमा साथ दिने हो। आज विश्वभर रहेका नेपालीहरूले आशा र भरोसाका साथ एनआरएनएतर्फ हेरेका छन्। यस्तो अवस्थामा यदि हामी चुनावी प्रतिस्पर्धा र पदको अंकगणितमा मात्र अल्झियौँ भने त्यो संस्थाको आत्मा र उद्देश्यविपरीत हुनेछ भन्ने मलाई गहिरो महसुस भएको छ।

मध्यपूर्वको असहज अवस्थाले युरोप, अमेरिका तथा अन्य क्षेत्रबाट नेपाल आई प्रत्यक्ष सहभागिता जनाउन चाहने प्रतिनिधिहरूका लागि यात्रा चुनौतीपूर्ण र अनिश्चित देखिन्छ। व्यापक, सुरक्षित र सम्मानजनक सहभागिताविनाको महाधिवेशन अपूर्ण हुने यथार्थ हामीले स्वीकार गर्नैपर्छ।

यस पृष्ठभूमिमा, अध्यक्ष पदको आकांक्षीका रूपमा म निर्वाचन समितिलाई विनम्र अनुरोध गर्दछु—वर्तमान अवस्था सहज नहुँदासम्मका लागि घोषित सम्पूर्ण निर्वाचन कार्यतालिका स्थगन गरियोस्। परिस्थिति सामान्य भएपछि, सबै प्रतिनिधिहरूको सुरक्षाको प्रत्याभूति सुनिश्चित गरी प्रक्रियागत विवादहरू निष्पक्ष रूपमा समाधान गर्दै बृहत्तर एकतासहित महाधिवेशन सम्पन्न गरौँ।

साथै, सदस्यता प्रमाणीकरण, शुल्क नबुझाएका एनसीसी तथा सदस्यहरूको स्पष्ट विवरण सार्वजनिक गर्ने, अवैधानिक नामहरू सूचीबाट हटाउने, विधानमा उल्लेखित समयसीमा पूर्णरूपमा पालना गर्ने जस्ता विषयहरूमा पारदर्शिता र विधिसम्मत प्रक्रिया सुनिश्चित गरिनुपर्छ भन्ने मेरो दृढ विश्वास छ। यदि यस्ता जटिलताबीच पनि महाधिवेशन गर्नैपर्ने अवस्था आयो भने, प्रतिस्पर्धाभन्दा सर्वसम्मत नेतृत्व चयनको बाटो रोजौँ भन्ने मेरो हार्दिक आह्वान छ।

सन् २०२१ को महाधिवेशनमा प्रतिनिधि विवादका कारण उत्पन्न परिस्थिति हामी सबैका लागि पाठ बनेको छ। त्यही गल्ती दोहोरिन नदिनु नै आजको आवश्यकता हो। यदि प्रक्रिया विवादित र असहमतिको घेरामा छ भने म व्यक्तिगत रूपमा त्यस्तो प्रक्रियामा सहभागी भई संस्थाको मर्यादामा आँच आउने कार्य गर्ने छैन। मेरो लागि पदभन्दा संस्था ठूलो छ, र संस्थाभन्दा ठूलो यसको विश्वसनीयता र एकता हो।

यो विषम परिस्थितिमा सम्पूर्ण नेपाली समुदायमा धैर्य, संयमता र एकताको अपिल गर्दछु। हामी एकजुट भयौँ भने कुनै पनि चुनौती ठूलो हुँदैन।

आदरपूर्वक,
प्रवीण गुरुङ
उपमहासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी
गैरआवासीय नेपाली संघ

प्रतिक्रिया